तोडफोड र आगजनीपछि कास्की मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

Share:

पोखरा। जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड र आगजनीका कारण कास्की जिल्ला मालपोत कार्यालयको सेवा कहिले सञ्चालन हुने भन्ने अनिश्चित बनेको छ। कार्यालयले आइतबार एक सूचना जारी गर्दै भौतिक र प्राविधिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको र आवश्यक मर्मत तथा पुनर्निर्माण नहुँदासम्म कुनै पनि सेवा दिन नसकिने स्पष्ट पारेको छ।

सूचनामा उल्लेख भएअनुसार, तोडफोड र आगजनीका कारण मोठ र रजिष्ट्रेशनका मोठहरू, स्रेस्ता (दर्ता अभिलेख), रोक्का अभिलेख, मुद्धार तामेली शाखाका कागजातहरू पूर्णरूपमा नष्ट भएका छन्। कार्यालयले अर्को सूचना नआएसम्मका लागि सबै सेवा अनिश्चितकालका लागि बन्द रहने जानकारी गराएको छ।

निमित्त कार्यालय प्रमुख शोभाकर पोखरेलले जारी गरेको सूचनामा भनिएको छ,”कार्यालयको भौतिक पूर्वाधार र आवश्यक उपकरण पुनः स्थापना नहुञ्जेल सेवा सम्भव छैन। सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा प्रकट गर्दछौं।”

कास्की मालपोत कार्यालयको सेवा ठप्प हुँदा जग्गा कारोबार, नामसारी, रोक्का फुकुवा लगायतका काम रोकिएका छन्, जसले नागरिकलाई थप अन्योलमा पारेको छ।

कमेन्ट गर्नुहोस्
Share: