जेनजी आन्दोलनले रोकिएको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेलका लागि नयाँ मिति तोकिने

Share:

पोखरा। जेनजी आन्दोलनका कारण रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको बाँकी खेलका लागि छिट्टै नयाँ मिति घोषणा हुने भएको छ। २० भदौदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको प्रतियोगिता २४ भदौमा प्रदर्शनका कारण रोकिएको थियो। आयोजक इन्फिनिटी ड्रिम्स प्रालिका तर्फबाट लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ मिति चाँडै सार्वजनिक हुने जानकारी दिएकी हुन्।

प्रारम्भिक योजना अनुसार २८ भदौसम्म चल्ने भनिएको लिगबाट १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन्, भने ७ खेल बाँकी छन्। बाँकी खेलहरू नेपाल भलिबल संघ, ६ फ्रेन्चाइज टिम र प्रायोजकसँगको सहमतिमा, सुरक्षा र उपयुक्तता हेरेर मिति तय गरिने उल्लेख गरिएको छ।

विदेशी खेलाडीहरू घर फर्किए

लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीमा १८ जना विदेशी खेलाडी सहभागी थिए। जसमा थाइल्याण्डबाट सबैभन्दा बढी ५ जना, नेदरल्याण्डबाट ३ जना, ब्राजिल र रुसबाट २/२ जना, क्रोएसिया, अमेरिका, बुल्गेरिया, कीर्गिस्तान, रोमानिया र ग्रीसबाट १/१ जना खेलाडी पोखरा आएका थिए। आन्दोलनपछि सबै विदेशी र स्वदेशी खेलाडी तथा स्टाफलाई सुरक्षित रूपमा घर पठाइएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: