गण्डकीमा अर्बौंको क्षति, मुख्यमन्त्रीले भने- पुनःनिर्माण गर्नूपर्छ

Share:

पोखरा । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गण्डकी प्रदेशभित्र भएको तोडफोड र आगजनीका कारण प्रदेश सरकार मातहतका थुप्रै सरकारी संरचना ध्वस्त भएका छन्। क्षति पुगेका कार्यालयहरूबाट महत्वपूर्ण सामग्री चोरी भएको पुष्टि भएको छ। भौतिक संरचना, सवारीसाधन, फर्निचर र उपकरणमा मात्रै अर्बौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

क्षतिको मुख्य केन्द्रमा प्रदेश सरकारका मन्त्रालयहरू, मन्त्री तथा सभामुख-उपसभामुखका निवास, गण्डकी विश्वविद्यालय, लोक सेवा आयोग, प्रदेश प्रमुखको कार्यालयजस्ता महत्वपूर्ण निकाय परेका छन्। घटनापछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार क्षतिग्रस्त संरचनाहरूको पुनः प्रत्यक्ष अवलोकन गरेका छन्। उनले कार्यालय प्रमुखहरूलाई यथाशक्य चाँडो सेवा प्रवाह गर्न सक्ने अवस्था बनाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री पाण्डेले यसअघि मर्ज, कर्मचारी दरबन्दी कटौती र खर्च नियन्त्रणमार्फत मितव्ययी बनेको गण्डकी प्रदेश सरकारले अब बजेट कार्यान्वयनमा समेत खर्च कटौतीलाई प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन्। उनले मन्त्रालयका सचिव, निकाय तथा कार्यालय प्रमुखहरूलाई सोही अनुरूप कार्य योजना बनाउन निर्देशन दिएका छन्।

यद्यपि अधिकांश मन्त्रालयहरूले तत्काल सेवा प्रवाहलाई रोक्न नपर्ने गरी वैकल्पिक व्यवस्था गरिसकेका छन्। ध्वस्त संरचनाहरूको पुनःनिर्माण क्रमिक रूपमा अघि बढ्ने जनाइएको छ। मुख्यमन्त्री पाण्डेले यो कठिन समयलाई सामूहिक प्रयास र सहकार्यबाट पार गर्नुपर्ने आवश्यकता औंल्याउँदै, सबै पक्षलाई सहयोगका लागि आह्वान गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: