
पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा रहेको राइजिङ स्टार युथ क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजित खुला रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन गरेको छ। बिहीबार सम्पन्न उक्त कार्यक्रममा पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवाहरूलाई विकृति र विसङ्गतिबाट टाढा रही समाज रुपान्तरणमा सक्रिय भूमिका खेल्न आग्रह गरे। उनले क्लबको सक्रियताको प्रशंसा गर्दै स्थानीय विकास निर्माणमा युवाको सहभागिता सधैं रहिरहने विश्वास पनि व्यक्त गरे।
क्लबका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग प्रदान गरेको थियो। क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले क्लबले सरसफाइ, खेलकुद र सामाजिक क्षेत्रमा सक्रियता बढाउँदै आएको जानकारी दिँदै, वार्षिक कार्ययोजनाअनुसार नै रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताए। उनले “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नाराको महत्वलाई समेत प्रस्ट्याएका थिए।
कार्यक्रममा स्थानीय समाजसेवी जगबहादुर गुरुङ, क्लबका निवर्तमान अध्यक्ष यमप्रसाद गुरुङ, वडा सदस्य जितेन्द्र क्षत्री, प्रगतिचोक आमा समाजकी अध्यक्ष देवीमाया गुरुङलगायतले रक्तदानको सामाजिक उपयोगिता र मानवीय महत्वमाथि प्रकाश पारेका थिए। यस्तै, हालै मात्र क्लबको कार्यसमिति पुनर्गठन गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा तिलबहादुर गुरुङ, उपाध्यक्षमा सुजन गुरुङ, सचिवमा अर्जुन सापकोटा सह-सचिवमा कपिल गुरुङ
कोषाध्यक्षमा किरण गुरुङ तथा सदस्यहरूमा अनिष विक, चित्र गुरुङ, ईश्वर खत्री, भीम गुरुङ र प्रिजन पोखरेल रहेका छन्। रक्तदानजस्तो मानवीय कार्यमार्फत क्लबले समाजमा सकारात्मक सन्देश फैलाएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

