जलेको पोखरा महानगरले वैकल्पिक कार्यालयबाट दिन थाल्यो सेवा

Share:

पोखरा। गत भदौ २४ गतेको जेनेरेसन जी आन्दोलनले पोखरा महानगरपालिकाको भवन खरानीमा परिणत भएपछि सम्पूर्ण सेवाहरू पूर्ण रूपमा ठप्प भएका थिए। कार्यालय, फर्निचर, फाइल, कम्प्युटर, सर्भरलगायतका सबै भौतिक संरचना ध्वस्त भएका कारण उत्पन्न असामान्य अवस्थाबीच महानगरले बिहीबारदेखि वैकल्पिक स्थानबाट सेवा प्रवाह सुरु गरेको छ। नगरवासीको काममा बाधा नपुगोस् भन्ने उद्देश्यले महानगरले विभिन्न स्थानबाट सेवा थालेको हो।

महानगरपालिकाको मुख्य भवन ध्वस्त

आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको मुख्य भवनमा व्यापक आगजनी र तोडफोड भयो। यसका कारण सम्पूर्ण प्रशासनिक कार्यहरू ठप्प भए। यति मात्र नभई, पोखराका अधिकांश वडा कार्यालयहरूमा पनि आंशिक वा पूर्ण क्षति पुगेको छ। महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार, ९ वटा वडा मात्र सुरक्षित रहेका छन् भने १४ वटा वडा पूर्ण रूपमा क्षति भएका छन् र १० वटामा आंशिक क्षति पुगेको छ।

सेवा ठप्प भएपछि नगरवासीले भोग्नुपरेको असहज परिस्थितिलाई मध्यनजर गर्दै महानगरले द्रुत गतिमा वैकल्पिक व्यवस्था गरेको छ। पोखरा सभागृहलाई महानगरको अस्थायी मुख्य कार्यालय बनाइएको छ। यसका साथै, आन्दोलनकारीबाट जोगिएका र कम क्षति भएका केही महाशाखाहरूलाई पनि प्रयोगमा ल्याइएको छ।
सभागृह: प्रशासन महाशाखा, भण्डार, तथ्यांक, विपद, उजुरी फछ्र्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा र नगर प्रहरीको सेवा सभागृहबाट प्रदान भइरहेको छ। सोही ठाउँमा रहेको व्यवसाय प्रवद्र्धन केन्द्रको भवनबाट राजस्व र सहरी विकास महाशाखाको काम भइरहेको छ।

शिक्षा महाशाखा

ड्यामसाइडमा रहेको शिक्षा महाशाखा सुरक्षित रहेकाले त्यहीँबाट काम भइरहेको छ। सामाजिक विकास महाशाखा: सृजनाचोकमा रहेको सामाजिक विकास महाशाखा पनि काम चलाउन योग्य रहेको छ। स्वास्थ्य महाशाखा: लेखनाथस्थित स्वास्थ्य महाशाखाबाट सेवा जारी छ। पूर्वाधार विकास महाशाखा: न्युरोडमा रहेको पूर्वाधार विकास महाशाखामा तोडफोड भए पनि कम क्षति भएकाले त्यसलाई प्रयोगमा ल्याइएको छ।

आर्थिक विकास महाशाखा

जनप्रिय क्याम्पस अगाडिको आर्थिक विकास महाशाखा पनि काम चलाउन योग्य छ। शान्तिवनस्थित दमकल भवन: पोखरा-९ स्थित शान्तिवनमा भर्खरै बनेको दमकल र नगर प्रहरी ब्यारेकका लागि बनाइएको भवनमा पनि अस्थायी कार्यालय राखिएको छ। यस भवनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक लेखा समिति, कानुन, सरसफाइ, सूचना प्रविधि र दमकल सञ्चालन हुनेछन्।

सेवाग्राहीको प्रतिक्रिया 

सेवा सुरु भएपछि सभागृहमा सेवाग्राहीको उल्लेख्य भीड लागेको थियो। कतिपयले लामो समय रोकिएका काम सकाउन धैर्यपूर्वक प्रतीक्षा गरे भने कतिपयलाई डिजिटल भुक्तानीमा अड्किनु पर्‍यो। पोखरा-१० मिलनटोलबाट राजस्व तिर्न आएका डिलबहादुर गुरुङले महानगरको हालत देखेर दुःख लागेको बताए।

उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्यकै सम्पत्ति नाश गर्नाले जनतालाई नै दुःख हुने प्रतिक्रिया दिए। “पहिले एउटै अफिसबाट सबै काम हुन्थ्यो। अहिले त एउटा काम गर्न एक ठाउँ अर्कोका लागि अर्को ठाउँ जानुपर्ने भयो। पहिले त काम ढिला हुन्थ्यो अब झन् के हुने हो,” उनले भने।

यद्यपि, धेरै सेवाग्राहीले यस्तो अप्ठ्यारो अवस्थामा पनि महानगरले सेवा सुरु गरेकोमा प्रशंसा गरेका छन्। बागलुङ बसपार्क क्षेत्रबाट सम्पत्ति कर तिर्न आएका एक सेवाग्राहीले फाइल जलेका कारण ढिलाइ भए पनि यस्तो अवस्थामा पनि सेवा सुरु हुनुलाई सुखद भएको टिप्पणी गरे।

राजस्व प्रशासन महाशाखा प्रमुख नवराज पौडेलका अनुसार बिहीबार दिउँसो १ बजेसम्म महालेखा कार्यालयमार्फत नियन्त्रण हुने सर्भर नचलेपछि केही समस्या आएको थियो। सर्भर चलेपछि ४७ जनाले सेवा लिएका थिए। अधिकांशले क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए किनकि नगद कारोबार भएको थिएन। सेवाग्राहीले घरबाहल कर, व्यवसाय कर, नगदी रसिद, सम्पत्ति कर, मालपोत कर र सिफारिस पत्रलगायतका सेवा लिएका थिए।

वडा कार्यालयहरूको अवस्था

आन्दोलनका क्रममा पोखराका ९ वटा वडा मात्र सुरक्षित रहेका छन् (वडा नम्बर २१, २२, २३, २४, २६, २७, २८, ३१ र ३३)। ग्रामीण भेगका यी वडामा आन्दोलनकारीले क्षति पुर्‍याउन भ्याएनन्। वडा नम्बर ६, ७, १७, १८, १९, २०, २५, २९, ३० र ३२ मा आंशिक क्षति पुगेको छ भने वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ का वडा कार्यालयहरू कामै नलाग्ने अवस्थामा पुगेका छन्।

आंशिक र पूर्ण क्षति भएका वडाबाट सेवा सुचारु गर्नका लागि उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले कमचलाउका लागि सामान किन्ने निर्णय गरेको छ। यसका साथै, कतिपय वडामा विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेको पाइएको छ, जसलाई सूचना अधिकारी तिवारीले निकै सराहनीय बताएका छन्।

पोखरा महानगरपालिका अहिले विध्वंशको पीडाबाट गुज्रिरहेको भए पनि नागरिकलाई सेवा प्रवाहमा कुनै बाधा नपरोस् भन्नका लागि तीव्र गतिमा पुनर्उत्थानको प्रयास गरिरहेको छ। यो कठिन घडीमा सबैको साथ, सहयोग र सहकार्यबाट मात्र महानगरले सामान्य अवस्थामा फर्कन सक्नेछ।

कमेन्ट गर्नुहोस्
Share: