
पोखरा। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, स्थायित्व र शान्तिप्रति प्रतिबद्ध रहन सबैलाई आह्वान गरेका छन्।
हालै जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका प्रदेश प्रमुख भट्टले देशले शान्तिपूर्ण समाधानको बाटो समातेको उल्लेख गरेका हुन्।
“संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै मुलुक अघि बढिरहेको छ, फागुन २१ गते हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न उपयुक्त वातावरण बनाउन सबै सम्बद्ध पक्षलाई विशेष आह्वान गर्दछु, अबका कदमहरू संविधानको कार्यान्वयन र संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा केन्द्रित हुनेछन्,” भट्टले भने।
उनले नव युवानेतृत्वको आन्दोलनले उठाएका मर्म र भावनालाई सम्बोधन गर्दै संविधानको स्वीकार्यता अझ व्यापक बनाउनुपर्नेमा जोड दिए।
प्रदेश प्रमुखले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत देशलाई स्थायी शान्ति र समृद्धिको यात्रातर्फ उन्मुख गराउन सबै नेपाली, राजनीतिक दल तथा राज्यका अंगहरूलाई निष्पक्ष र न्यायपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे।
“देशमा शान्ति, जनताको हित र उन्नतिभन्दा ठूलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन, प्रदेश प्रमुखले भने, यसै भावनाबाट उत्प्रेरित भई राज्यका सबै निकायहरूले संविधानको पालना र कार्यान्वयनमा समर्पित भूमिका खेल्नुपर्नेछ।”
अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोगको अपेक्षा व्यक्त गर्दै उनले राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सधैं सर्वोपरी राख्नुपर्नेमा जोड दिए।
प्रदेश प्रमुख भट्टले वर्तमान संविधानले केन्द्रीकृत तथा एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित विभेद र उत्पीडनको अन्त्य गरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न सफल भएको उल्लेख गरे।

