पुनर्निर्माणका लागि गण्डकी कांग्रेसले १० लाख सहयोग गर्ने

Share:

पोखरा। जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा भएको क्षतिलाई ध्यानमा राख्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले ‘पुनर्निर्माण कोष’ स्थापना गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ। साथै उक्त कोषमा दलले आफ्नातर्फबाट १० लाख रुपैयाँ योगदान दिने निर्णय समेत गरेको छ।

मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा विहीबार बसेको दलको बैठकले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरू, सुरक्षाकर्मीहरू र अन्य दिवंगत नेपालीप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो।

संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताएअनुसार, “जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने सार्वजनिक कार्यालयहरूको शीघ्र पुनर्निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य भएकाले प्रदेश सरकारलाई विशेष पुनर्निर्माण कोष स्थापना गर्न आग्रह गरिएको छ।” बैठकले आन्दोलनको क्रममा प्रदेशभरि सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको यकिन विवरण संकलन गरी पुनर्निर्माण योजना अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ।

न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग

बैठकले आन्दोलनको क्रममा भएका ज्यादती र ध्वंसात्मक गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाहीको मागसमेत गरेको छ। त्यस्तै, जेनजी पुस्ताले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रत्याभूति र सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउने मागप्रति सहमति जनाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार जनतामुखी र उत्तरदायी रूपमा अघि बढ्न तयार रहेको स्पष्ट गरिएको छ।

बैठकले नेपालको समृद्धि र युवा पुस्ताको चाहना संविधानकै मार्गबाट पूरा गर्न सकिने उल्लेख गर्दै सबै राजनीतिक दललाई संविधानको रक्षा र सुदृढीकरणमा प्रतिबद्ध रहन आह्वान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा निर्वाह गरेको जिम्मेवार अभिभावकीय भूमिकाप्रति पनि बैठकले विशेष आभार प्रकट गरेको छ।

निजी क्षेत्रमाथि आक्रमणको भर्त्सना

बैठकले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमणहरूको गंभीर भर्त्सना गर्दै, रोजगारी सिर्जना र राजस्व उत्पादनमा योगदान दिइरहेको निजी क्षेत्रको सुरक्षा र लगानीमैत्री वातावरण पुनःस्थापना गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक पहल गर्नुपर्नेमा जोड दिएको छ। त्यस्तै, आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य नेताहरू र सर्वसाधारण नागरिकमाथि भएको आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

दलले अहिलेको जटिल परिस्थितिमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवापुस्ता र जिम्मेवार पक्षहरूलाई लोकतान्त्रिक मूल्य र विधिबाट अघि बढ्न संयमता र एकतामा जोड दिनुपर्ने बताएको छ। “सबैमा संविधानअनुसार अघि बढ्दै राष्ट्रिय एकता मजबुत बनाउने दिशामा काम गर्न आह्वान गरिएको छ,” प्रमुख सचेतक न्यौपानेले भने।

कमेन्ट गर्नुहोस्
Share: