झाडीमै गएर सुत्केरी सेवा दिँदै बैतडीकी अनमी रमिता

Share:

काठमाडौं । सुदूरपश्चिमको विकट जिल्ला बैतडीमा एक अनमीले जीवन जोखिममा पार्दै झाडीमै पुगेर सुत्केरी सेवा दिएकी छन्। कटौजपानी स्वास्थ्य चौकीमा कार्यरत अनमी रमिता जोशीले पुर्चौडी नगरपालिका-१० विजयपुरकी २२ वर्षीया बसन्ती विष्टलाई जंगलकै बीचमा सुरक्षित रूपमा शिशु जन्माउन सहयोग गरेकी हुन्।

बसन्ती स्वास्थ्य चौकी पुग्ने क्रममा बाटोमै प्रसव पीडाले थलिएकी थिइन्। झाडीमै व्यथाले च्यापिएपछि स्वास्थ्य चौकी पुग्नै नसकी त्यहीँ बच्चा जन्माउनु परेको थियो। अनमी जोशीका अनुसार नवजात शिशुको तौल ३ केजी ४ सय ग्राम रहेको छ, र आमा–शिशु दुबैको अवस्था अहिले स्थिर छ।

यो घटना बैतडीका दुर्गम गाउँहरूमा स्वास्थ्यकर्मीको समर्पण र चुनौतीपूर्ण सेवाको जीवित उदाहरण हो। दोगडाकेदार गाउँपालिका-८ स्थित कटौजपानी स्वास्थ्य चौकीले स्थानीय मात्र होइन, पुर्चौडीको तल्लादेही, विजयपुर जस्ता दुर्गम क्षेत्रका गाउँमा समेत स्वास्थ्य सेवा पु¥याउँदै आएको छ।

तर, सञ्चार सुविधाको अत्यन्तै कमजोर अवस्थाले सेवामा ठूलो अवरोध सिर्जना गरेको छ। “रातिको समयमा आकस्मिक फोनसमेत सम्पर्क हुन सक्दैन। नेटवर्क छैन, म्यासेज ढिलो आउँछ, सेवाग्राहीको फोन प्रायः ‘स्विच अफ’ हुन्छ,” अनमी जोशीले भनिन्।

केवल उपचार मात्र होइन, दैनिक प्रशासनिक काम तथा डाटा इन्ट्री गर्न समेत स्वास्थ्यकर्मीहरूलाई चुनौति छ। इन्टरनेट सुविधा नहुँदा डाटा इन्ट्रीका लागि माल्लेक बजारसम्म घण्टौंको पैदल यात्रा गर्नु पर्छ। “पानी परेको दिन त जानै सकिन्न,” जोशीको भनाइ छ।

प्रसूति सेवा, जंगल र मच्छर

जोशीले त्यस्तो पनि अवस्था सुनाइन् जहाँ जटिल प्रकृतिको सुत्केरी सेवा झाडीमा, जुका र मच्छरले भरिएको स्थानमा दिनुपरेको थियो। उनी भन्छिन्, “साना बच्चालाई घरमै छाडेर चौबीसै घण्टा ड्युटीमा बस्नुपर्छ। तर सेवा नदिई सुख छैन।”

कटौजपानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको माग छ-इन्टरनेट नभए पनि कम्तीमा नियमित रूपमा फोन सम्पर्क हुने अवस्था बनाइयोस्। “फोन नै लाग्ने भए धेरै सहज हुन्थ्यो,” उनीहरू भन्छन्।

यस्तो अवस्थामा सरकारको ध्यान पुग्न आवश्यक छ। स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा आधारभूत सञ्चार सुविधाको अभावले जनताको जीवन जोखिममा पार्नु गम्भीर विषय हो। यसमा संघीय, प्रादेशिक र स्थानीय सरकारको समन्वयमा तत्काल सुधारात्मक पहल आवश्यक छ।

कमेन्ट गर्नुहोस्
Share: