
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भदौ २३ र २४ गते भएका आन्दोलनलाई नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा मूल्याङ्कन गरेका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा उनले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।
मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनका घटनाहरूको न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितको न्याय सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर रहेको बताए।
उनले भने, “जेनजी पुस्ताले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रता जस्ता मुद्दाहरू हाम्रो साझा लक्ष्य र जिम्मेवारी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिमाथि प्रहार गर्ने र विकासलाई अवरुद्ध गर्ने प्रयासहरू देखिएका छन्। त्यसैले युवापुस्ताले सकारात्मक सोच राख्दै अघि बढ्नुपर्छ।”
मुख्यमन्त्रीका अनुसार गण्डकी प्रदेश सरकारले राइड शेयरिङमार्फत युवालाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती, कार्यालयहरूको समायोजन, दरबन्दी कटौती तथा प्रशासनिक व्यवस्थापनमार्फत सुशासन कायम गर्ने कार्य अघि बढाइरहेको छ। उनले यस्ता सुधारहरू केवल प्रशासनिक प्रक्रिया नभई युवाको आशा, विश्वास र समृद्ध प्रदेशको लागि आवश्यक रहेको उल्लेख गरे।
“लोकतान्त्रिक व्यवस्थामा नागरिकको आवाज र अधिकारको सम्मान गर्नु सरकारको दायित्व हो। मागहरू संवैधानिक र शान्तिपूर्ण तरिकाले उठाउनु स्वागतयोग्य छ, तर सार्वजनिक सम्पत्ति तोडफोड, आगजनीजस्ता गतिविधि नियन्त्रण गर्नु र नागरिकलाई शान्ति–सुरक्षा दिनु पनि सरकारकै जिम्मेवारी हो,” उनले स्पष्ट पारे।
मुख्यमन्त्री पाण्डेले संविधानले नागरिकलाई अधिकारसँगै कर्तव्य पनि तोकेको स्मरण गराउँदै भने, “संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ। त्यसैले यसको रक्षा र कार्यान्वयनमा सबै राजनीतिक दल, राज्यका अंगहरू, नागरिक समाज र युवाको सक्रिय भूमिका आवश्यक छ।”
संविधान दिवसका अवसरमा उनले मुलुकका ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विभिन्न आन्दोलनमा क्षति व्यहोरेका नागरिक समाज, राजनीतिक दलका नेताहरू तथा सर्वसाधारणप्रति उच्च सम्मान प्रकट गरे। उनले भने, “संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको आधारशिला हो, जसले समान अधिकार, सामाजिक न्याय र समावेशी राज्यको परिकल्पना गरेको छ।”
प्रदेश सरकारले सीमित साधन–स्रोतका बाबजुद योजनाहरूको प्रभावकारी कार्यान्वयनमा प्राथमिकता दिएको उल्लेख गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमपछि सेवा प्रवाहलाई सहज बनाउन मन्त्रालय, निकाय र कार्यालयमार्फत काम सुरु भइसकेको जानकारी दिए। संघीय सरकारको नीतिअनुसार पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइने उनले बताए।
पोखरालाई पर्यटन राजधानीको रूपमा अगाडि बढाउने दीर्घकालीन योजनामा आन्दोलनका घटनाले नकारात्मक असर परेको उल्लेख गर्दै उनले निजी क्षेत्रमाथि भएको आक्रमणको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माणमा सक्रिय रहने प्रतिवद्धता जनाए।
समारोहमा मुख्यमन्त्री पाण्डेले राष्ट्रपति रामचन्द्र पौडेलको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको अभिभावकत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आभार प्रकट गरे।
कार्यक्रमको अन्त्यमा उनले भने, “संविधानको मर्म व्यवहारमा उतार्दै गण्डकी प्रदेश सरकारले आत्मनिर्भर, समुन्नत र खुसी प्रदेशवासीको संकल्प पूरा गर्न सबै पक्षको सहकार्य अपरिहार्य छ।”
