
काठमाडौं । तुइन खोलामा झरेको पहिरोका कारण नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको २४ घण्टा पूरा भएको छ। दिनभर प्रयास गरे पनि पहिरो पन्छाउन नसकेपछि राति काम रोकिएको र आइतबार बिहानबाट पुनः सुरु गरिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
शुक्रबार साँझदेखि भिरबाट लगातार ढुंगा खसिरहेकाले पहिरो पन्छाउन कठिन भइरहेको छ। सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार बिहानदेखि पहिरो थामिँदा पन्छाउने र फेरि झर्दा रोक्ने गर्दै काम अघि बढाइएको थियो।
“रात परिसकेकोले माथिबाट खस्ने ढुंगा देखिँदैन, जसले गर्दा जोखिमपूर्ण अवस्थामा काम गर्न सकिँदैन। उज्यालो भएसँगै फेरि काम सुरु गर्छौं, लगातार काम गर्न पाएको भए पहिरो पन्छाउन सकिन्थ्यो, तर सुरक्षा जोखिमका कारण ढिलाइ भयो,” आचार्यले भने । उनका अनुसार यदि रातभर थप ढुंगा नखसेमा आइतबार बिहान १० बजेसम्म सडक खुलाउने गरी काम गर्ने योजना छ।
लोडर र एक्साभेटरमार्फत दिनभर प्रयास गरिए पनि पहिरोको निरन्तर जोखिमले काम अगाडि बढाउन समस्या भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक गायत्रीराज शर्माले पहिरो झरिरहेकाले निरन्तर काम गर्न नसकिएको बताए। सडक अवरुद्ध हुँदा हजारौं सवारी साधन बाटोमै रोकिएका छन् भने सयौं यात्रु अलपत्र परेका छन्। प्रहरीले अति आवश्यक काम परेका यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।
वैकल्पिक मार्गका रूपमा पश्चिमबाट पोखरा हुँदै तथा पूर्वबाट हेटौंडा वा सिन्धुली हुँदै काठमाडौँ जान सकिन्छ। शक्तिखोर-फिस्लिङ सडकमार्ग पनि प्रयोग गर्न सकिने भए तापनि त्यो साना सवारीका लागि मात्र उपयुक्त छ। दुई वर्षअघि तुइन खोलामा नयाँ पुल निर्माण गर्ने क्रममा पहरो फुटाइएको थियो। त्यसै क्षेत्रबाट पहिरो खस्न थालेको हो। गत वर्ष पनि यही ठाउँमा पहिरो खसेको थियो।
