मुग्लिन-नारायणगढ सडक दुई दिनदेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

Share:

काठमाडौं । दसैँको मुखमा सवारी चाप बढिरहेका बेला शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड शनिबार दिनभरको प्रयासपछि पनि खुल्न सकेन। चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइन खोला पुलछेउमा गएको पहिरोका कारण सडक झन्डै १५० मिटर क्षेत्रमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

नागढुंगा-मुग्लिन सडक योजनाका (पश्चिम खण्ड) प्रमुख केदार नेपालका अनुसार पहिरोले काममा निरन्तरता दिन कठिन भएको छ। “पहिरो खसिरहेकाले एक्स्काभेटरले पनि लगातार काम गर्न सकेको छैन,” उनले बताए। थप पहिरो नखसे आइतबार दिउँसोसम्म सडक सुचारु हुने आशा गरिएको छ।

शनिबार नारायणगढतर्फबाट दुई र मुग्लिनतर्फबाट तीन गरी पाँचवटा मेसिन परिचालन गरिएको थियो। तर, साँझतिर पुनः ठूला ढुंगासहितको पहिरो खस्दा मेसिनसमेत क्षतिग्रस्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

हजारौं यात्रु अलपत्र

सडक अवरोधका कारण दुवैतर्फ ६/७ सय सवारी साधन जाममा परेका छन्। हजारौं यात्रु खुलेको आकाशमुनि र नजिकका होटेलमा रात बिताउन बाध्य भएका छन्। यात्रुको सुरक्षासँगै खानपिन तथा बसोबासको व्यवस्थाका लागि प्रहरी र स्थानीय प्रशासनले पहल गरिरहेका छन्। शनिबार साँझ जिल्ला प्रशासन चितवनले झन्डै २५ सय यात्रुलाई चिउरा, भुजा, पानी लगायत खाद्यान्न वितरण गरेको छ। स्थानीय संघसंस्था र होटेल व्यवसायीले पनि राहत वितरणमा सहयोग गरेका छन्।

योजना प्रमुख नेपालले लामो दूरीका यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। वैकल्पिक मार्गहरूमा त्रिभुवन राजपथ (दामन हुँदै), दक्षिणकाली-कुलेखानी, भिमाद-कालीगण्डकी करिडोर, र बीपी राजमार्ग समावेश छन्। यद्यपि यी सडक साना सवारीका लागि मात्रै उपयुक्त रहेको, ठूला बस तथा ट्रकका लागि असहज हुने सडक डिभिजन चितवनका प्रमुख नारायणप्रसाद लामिछानेले बताए।

दाउन्नेमा ठूला सवारी साधन सञ्चालनमा रोक

यसैबीच, बुटवल-नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा हिलो र चिप्लोका कारण सवारी आवागमनमा समस्या उत्पन्न भएपछि मर्मत सुरु गरिएको छ। दसैँ अवधिभर १२ चक्के वा सोभन्दा ठूलो भारवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने चल्ने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: