
पोखरा । जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) को ३१औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा कार्यकारी निर्देशक भरत भण्डारीले संस्थाको वर्तमान संस्थागत अवस्था, उल्लेखनीय पहलहरू र उपलब्धिहरूको बारेमा जानकारी दिए। उनले गैरसरकारी संस्थाहरूले हाल सामना गरिरहेका आन्तरिक तथा बाह्य कार्य वातावरणका चुनौतीहरूबारे प्रकाश पार्दै नीतिगत पैरवीमा गैरसरकारी संस्था महासंघको भूमिका अत्यावश्यक रहेको उल्लेख गरे।
सभामा सामाजिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरिएको थियो। सामाजिक लेखा परीक्षक प्रसिद्ध नेउपानेले कास्की, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा ली-बर्डद्वारा सञ्चालित कार्यक्रमहरूको फील्ड अन्तर्क्रियामा आधारित सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे। सभामा उठेका जिज्ञासाहरूको जवाफ कार्यकारी निर्देशक भण्डारी र कार्यकारिणी बोर्डका अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठले दिए।
कोषाध्यक्ष रामकली खड्काले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसलाई सभाले अनुमोदन गर्यो। यस्तै, बोर्डका सचिव बेनीबहादुर बस्नेतले कार्यकारिणी बोर्डको वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरे। जसलाई सभाले सर्वसम्मत रूपमा पारित गर्यो।
सभामा संस्थाले सुरु गरेका संस्थागत कोष वृद्धि सम्बन्धी पहलहरूबारे पनि जानकारी गराइएको थियो। डा. श्रेष्ठले भुवन रत्न स्थापितको स्मृतिमा स्थापना गरिएको कृषि जैविक विविधता कोष र स्थानीय अन्वेषण कोषका बारेमा जानकारी गराउँदै संस्थाको दीर्घकालीन वित्तीय दिगोपनाका लागि नयाँ ढंगले कोष जुटाउन सबै सदस्यको साथ-सहयोग आवश्यक रहेको बताए। उनले परम्परागत दातृ निकायहरूमा मात्र निर्भर नभई सहभागीमूलक अनुसन्धान र कार्यक्रममार्फत संस्थाको पहिचानलाई अझ सुदृढ बनाउनुपर्नेमा पनि जोड दिए।
कार्यक्रमको प्रारम्भमा कोषाध्यक्ष रामकली खड्काले स्वागत मन्तव्य राखे भने सञ्चालन सचिव बेनीबहादुर बस्नेतले गरे। कार्यक्रममा यस वर्ष सदस्यता प्राप्त गरेका नयाँ सदस्यहरूको परिचय पनि गराइएको थियो। सभाको समापन अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठले गर्दै सहभागी सदस्य, कर्मचारी, संस्थापक सदस्य, कार्यसमिति सदस्य, साझेदार संस्था तथा दातृ निकायप्रति आभार व्यक्त गरे।
