ठूलोढुङ्गाको बालादेवी मन्दिरमा नवदुर्गा विशेष पूजा हुने

Share:

पोखरा। पोखरा महानगरपालिका-३३, ठूलोढुङ्गास्थित करिब दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ। विश्वशान्ति तथा देशको समृद्धिका लागि विशेष कामना गर्दै बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिको आयोजनामा पूजा गरिन लागेको समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिए।

उनका अनुसार, भोलि घटस्थापनादेखि मन्दिरका पूजारी वसन्तप्रसाद आचार्य सहित तीन जना पण्डितद्वारा नियमित रूपमा दुर्गा सप्तशती पाठ गरिनेछ। त्यसैगरी, फूलपाती, महाअष्टमी र महानवमीका दिन विशेष पूजा गरिनेछ। विजयादशमीको दिन, मन्दिरमा चढाइने फूल र प्रसाद स्थानीयवासीका घर-घरमा वितरण गर्ने कार्यक्रमसमेत रहेको छ।

सचिव लामिछानेका अनुसार, मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनोकांक्षा पूरा हुने विश्वासले पोखराको भरतपोखरी र आसपासका क्षेत्रबाट दर्शनार्थी आउने गरेका छन्। मन्दिरमा बलिपूजा भने गरिँदैन, तर विभिन्न भाकल सहित भक्तजन पूजा गर्न आउने गरेको उनले बताए।

मन्दिरको इतिहास र किंवदन्ती

बालादेवी मन्दिरको सुरुआतमा पोखरा-३३ निवासी स्व. लेखबहादुर गुरुङबाट टिन र जस्ताको प्रयोग गरी गारो लगाउने काममा महत्वपूर्ण योगदान प्राप्त भएको थियो। त्यसपछि दिननाथ आचार्यद्वारा पूजा सुरु गरिएपछि, हालसम्म वसन्तप्रसाद आचार्यले नियमित पूजा गरिरहेको जानकारी दिइएको छ। करीब दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको विश्वास गरिएको यस मन्दिरको स्थापना सम्बन्धी एक अनौठो किंवदन्ती पनि प्रचलित छ।

किंवदन्तीअनुसार, आजभन्दा दुई सय वर्षअघि, एक गर्भवती महिला माइत जाने क्रममा रात परेकोले हालको बालादेवी मन्दिर नजिकैको ओढारमा वास बसिन्। राति उनलाई बाघले आक्रमण गरी गर्भबाट बालिका निस्किएको र महिलालाई बाघले खाएको, तर नागले बालिकालाई बेरेर संरक्षण दिएको भनाइ छ। केही समयपछि बालिका हराएको तर त्यही स्थानमा बालिकाको रोएको तथा कराएको आवाज आउन थालेपछि धामी झाक्री बोलाइयो।

धामीमार्फत बालिकाको आत्माले म देवी हुँ, यहीं मन्दिर बनाउनु भन्ने निर्देशन दिएपछि बालादेवी मन्दिरको स्थापना भएको र त्यसयता नियमित पूजाआजा हुँदै आएको जनविश्वास छ। विसं २०२२ मा पहिलो पटक सानो पाखे मन्दिर निर्माण गरिएको थियो भने विसं २०५९ मा स्थानीयको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको हो। प्रत्येक वर्ष ज्येष्ठी पूर्णिमाका दिन यहाँ विशेष पूजा गरिन्छ। विगतमा यस दिन पाठीको बलि दिने परम्परा रहे पनि, पछिल्ला तीन वर्षदेखि उक्त प्रचलन हटाइएको छ। मन्दिरमा विभिन्न पावन तिथिमितिमा देशभरबाट श्रद्धालुहरू दर्शन र पूजाका लागि आउने गरेका छन्।

मन्दिरको संरक्षण र विकासका लागि बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति सक्रिय रहेको छ। मन्दिर निर्माणका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराएको छ भने आगामी दिनमा थप पूर्वाधार निर्माणका लागि पनि जग्गा दिने प्रतिबद्धता उनले व्यक्त गरेका सचिव लामिछानेले जानकारी दिए।

पोखराको बिरौटा हुँदै बागमारा जाने सडकखण्डमा पर्ने यो मन्दिर ठूलोढुङ्गा चोकबाट नजिकै छ। पूर्णरूपमा कालोपत्रे सडक भएकोले यहाँको पहुँच सजिलो छ र पछिल्ला वर्षमा मन्दिरको महिमा र गरिमा झनै बढ्दै गएको छ।

कमेन्ट गर्नुहोस्
Share: