
पोखरा। नेपाली कांग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरेको छ। आइतबार पार्टी कार्यालय चिप्लेढुंगामा बसेको बैठकले देशको पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिबारे गम्भीर समीक्षा गर्दै विशेष महाधिवेशनको आवश्यकता औंल्याएको हो।
पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलका अनुसार बैठकले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यता नविकरण गरि यही मंसीर महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने निर्णय गरेको छ। यदि त्यो सम्भव नभएमा १४औं महाधिवेशनका प्रतिनिधिमार्फत विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव समेत पारित गरिएको उनले जानकारी दिए।
बैठकले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणामाथि भएको आक्रमण, तोडफोड र आगजनीप्रति गम्भीर आपत्ति र घोर भत्सर्ना गरेको छ।
त्यस्तै, देशभर फैलिएको सरकारी तथा निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरूले शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यता विपरीत रहेको भन्दै ती घटनाप्रति कडा आपत्ति जनाइएको छ।
शालिक तोडफोडको विरोध
बैठकले पार्टी कार्यालय चिप्लेढुंगामा रहेको विपी कोइरालाको शालिक, हरिचोकस्थित शहीद हरिप्रसाद गुरुङ तथा अन्य शहीदहरूको शालिक तोडफोड र आगजनी घटनाको कडा निन्दा गरेको छ। बैठकले पार्टी कार्यालयको पुनर्निर्माण तथा शालिक पुनःस्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरेको छ। सो पुनर्निर्माणको लागत मूल्यांकन गर्ने जिम्मेवारी जिल्ला कार्यसमिति सदस्य ई। सागर मोहन भट्टराईलाई दिइएको छ।
साथै, कास्की जिल्लाअन्तर्गत रहेका क्षेत्रीय, प्रदेशसभा, पालिका तथा सम्पूर्ण वडा कार्यसमितिहरूको तत्काल बैठक बोलाई संगठनलाई सक्रिय बनाउन आह्वान गरिएको छ।
उक्त बैठकमा कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा जिल्ला कार्यसमिति पदाधिकारी, सदस्यहरू, क्षेत्रीय, प्रदेश सभा र पालिका सभापतिहरूको सहभागिता रहेको थियो।
