
काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा स्मार्ट कक्षाकोठा बनाउने योजना अब अन्तिम चरणमा पुगेको छ। हालसम्म ३९० ओटा स्मार्ट बोर्ड जडान भइसकेको छ र तिहारसम्म सबै विद्यालयका कक्षामा स्मार्ट बोर्ड जडान गरिने योजना छ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमार्फत जानकारी दिएका छन् कि यसअघि १७७ ओटा स्मार्ट बोर्ड जडान भएका थिए भने पछिल्लो ठेक्का मार्फत ३१३ ओटा स्मार्ट बोर्ड थप गरिएको छ।
उनका अनुसार, विभिन्न कारणले विगत दुई वर्षदेखि उक्त योजना रोकिएको थियो, तर अब यो योजना पूरा हुने अन्तिम चरणमा पुगेको हो। स्मार्ट बोर्ड जडानका लागि ५७० ओटा थप बोर्डको बजेट सम्बन्धित विद्यालयलाई प्रदान गरिसकेको र तिहारअघि नै जडान गरिने मेयर बालेनले जानकारी दिए।
“महानगरका ८७ वटा विद्यालयका लागि १०६० ओटा स्मार्ट बोर्ड जडान गरिनेछ र सम्पूर्ण कक्षाकोठालाई स्मार्ट कक्षाकोठामा परिणत गर्ने कार्य सम्पन्न हुनेछ। यसबाट ५३,००० भन्दा बढी विद्यार्थी लाभान्वित हुनेछन्,” मेयर बालेनले भने।

