
काठमाडौं : नेपाली हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। दुर्गा पक्षको दशौँ दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरूप टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा अनुसार घर–घरमा उत्सवको माहोल छ।
आजको दिन दुर्गा भवानीको प्रतीक रातो टीका र पहेँलो जमरा थापी आफू र परिवारको दीर्घायु, ऐश्वर्य तथा समृद्धिको कामना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११: ५३ बजे टीका लगाउनका लागि उत्तम साइत रहेको छ।
वैदिक विधिपूर्वक पूजाआजा गरिएका जमरालाई समृद्धिको प्रतीक मानिन्छ भने वैज्ञानिक रूपमा पनि जमराको औषधीय महत्व प्रमाणित भइसकेको छ।
धर्मशास्त्र अनुसार आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइ माग्नेले पूर्वतर्फ र लगाइदिनेले पश्चिमतर्फ फर्कनुपर्ने मान्यता छ। चन्द्रमालाई दाहिने राख्दा शुभफल प्राप्त हुने विश्वास गरिएको छ।
विजयादशमीको ऐतिहासिक र धार्मिक महत्त्व उल्लेख गर्दै धार्मिकविद्हरू बताउँछन् कि त्रेतायुगमा आजकै दिन भगवान् रामले रावणलाई पराजित गरेका थिए। त्यसैले यस दिनलाई सत्यको असत्यमाथिको विजयको प्रतीकका रूपमा मनाइन्छ।
