
काठमाडौं : आगामी शनिबारदेखि देशभर भारी वर्षाको पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको सूचनामा असोज १८, १९ र २० गते (शनिबारदेखि सोमबारसम्म) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट सञ्चालन हुने सबै प्रकारका लामो दूरीका सवारी साधन तथा काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनको आवतजावतमा प्रतिबन्ध लगाइएको उल्लेख छ।
भारी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् आउन सक्ने सम्भावना रहेकाले सतर्कताका रूपमा उक्त निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
यातायात सञ्चालनमा रोकको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायमार्फत निगरानी र आवश्यक कारबाहीको व्यवस्था मिलाउन प्राधिकरणले निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि तीन दिनसम्म विशेषगरी रातको समयमा अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरिसकेको छ।
