नेपालबाट मनसुन बाहिरिन थाल्यो, लगातारको वर्षाले ५० जनाको ज्यान गयो

Share:

काठमाडौं :  तीन दिनको लगातारको वर्षापछि नेपालबाट यस वर्षको मनसुन बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग र गण्डकी प्रदेशको पश्चिमी भागका अधिकांश स्थानबाट मनसुन बाहिरिएको छ।

यो वर्ष मनसुन सामान्यभन्दा १५ दिनअघि, जेठ १५ गते नेपाल प्रवेश गरेको थियो र असार ६ गतेसम्म देशभर फैलिएको थियो। विभागले जारी गरेको विशेष जानकारी अनुसार हाल मनसुनी वायु क्रमशः कमजोर बन्दै गएकोले देशका अन्य बाँकी भागबाट पनि आगामी केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको छ।

यद्यपि, मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६) भए पनि यस वर्ष मनसुनको उत्तरार्धमा फेरि सक्रिय बनेको देखिएको छ। यही असोज १७ गतेदेखि सुरु भएको लगातारको वर्षाका कारण देशभर विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ।

बाढी र पहिरोका कारण अहिलेसम्म करिब ५० जनाको ज्यान गइसकेको छ भने अनुमानित १० अर्बभन्दा बढीको भौतिक र पूर्वाधार क्षति भएको प्रारम्भिक विवरण विभागले सार्वजनिक गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार, “सामान्यतया जुन १३ (जेठ ३०) मा मनसुन नेपाल प्रवेश गर्छ। तर यो वर्ष मनसुन १५ दिन अगावै भित्रिएको थियो। प्रारम्भिक चरणमा कमजोर देखिएको भए पनि अन्त्यतिर सक्रिय हुँदा ठूलो क्षति भयो।”

कमेन्ट गर्नुहोस्
Share: