सेनाको विज्ञप्ति: शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

214
0
Share:

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित असरको वस्तुगत मूल्यांकन गरी आवश्यक पहल लिएको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले आन्दोलनपछिको विषम परिस्थितिमा खेलेको भूमिकालाई लिएर प्राप्त राय, सुझाव र समालोचनात्मक अभिवक्तिप्रति आभार व्यक्त गरेको छ।

‘गत भदौ २३ र २४ गतेको परिस्थितिलाई सामान्यीकरण गर्न नेपाली सेनाले निर्वाह गरेको भूमिकाप्रति विद्वत वर्ग, समाजसेवी, सञ्चारकर्मी र आम नागरिकबाट प्राप्त राय, सुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी चाँडोभन्दा चाँडो शान्ति-सुरक्षा कायम गर्न आवश्यक पहल सुरु गरिसकेको स्पष्ट पारेको छ।

साथै, हालको संवेदनशील अवस्थामा सेनालाई जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणीप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ। ‘संवेदनशील समयमा संस्था र नेतृत्वलाई जोडेर विभिन्न टिप्पणीहरू सम्प्रेषण भइरहेकोप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
Share: