फोटोग्राफर मञ्च स्याङजाको दोस्रो अधिवेशन सम्पन्न, हिमाल न्यौपाने नयाँ अध्यक्षमा चयन

Share:

पोखरा ।  स्याङजाका फोटो व्यवसायीहरूको साझा संस्था फोटोग्राफर मञ्च स्याङजाको दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै युवा पत्रकार तथा फोटोग्राफर हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका कोषाध्यक्ष तथा गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी थिए। उनले उद्घाटन मन्तव्य दिँदै व्यवसायिक एकता र सहकार्यको महत्वमाथि प्रकाश पार्दै सम्पूर्ण फोटोग्राफरहरूलाई एउटै मंचमा संगठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रमका विशेष अतिथि गल्याङ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले फोटोग्राफीलाई केवल कला नभई भविष्यको लागि वर्तमानको दस्तावेज राख्ने प्रविधिको रूपमा वर्णन गरे। एउटा फोटोले हजार शब्द बोल्ने उनको भनाइ छ ।

उनका अनुसार फोटोग्राफीको सरकारी तथा गैरसरकारी क्षेत्रमै अत्यधिक महत्त्व छ। गण्डकी प्रदेश फोटोग्राफर संघका महासचिव प्रेम प्रसाद पराजुली, गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष अर्जुन रानाभाटलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा संस्था अध्यक्ष बिमल खनालले भावी योजना र प्रतिवेदन प्रस्तुत  गरे भने, सचिव बाबुराम रेग्मीले सचिवीय प्रतिवेदन तथा कोषाध्यक्ष प्रदीप पाठकले आर्थिक प्रतिवेदन पेश गरे।

सांस्कृतिक मनोरञ्जनका रुपमा दोहोरी गीत प्रतिष्ठान स्याङजाका लोकप्रिय कलाकार राजेश भण्डारी र भूमिका पगेनीको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

नयाँ कार्यसमितिको अध्यक्ष हिमाल न्यौपाने, वरिष्ठ उपाध्यक्षमा बाबुराम रेग्मी, उपाध्यक्षमा शिव भण्डारी, सचिवमा प्रदीप पाठक, कोषाध्यक्षमा बिकास खाँण तथा सह-कोषाध्यक्ष विनोद गुरुङ चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा गीता भट्टराई, केदारमान श्रेष्ठ, कमला लम्साल, बिबेक श्रेष्ठ, सन्जोक थापा, रबिन थापा र सुरेश उचाई ठकुरी चयन भएका छन् भने सल्लाहकारहरूमा ढाकाराम खनाल, महेन्द्र श्रेष्ठ र निवर्तमान अध्यक्ष बिमल खनाल चयन भएका छन्।

निर्वाचन प्रकृया तुलसी राम सुवेदीको संयोजकत्वमा सम्पन्न भएको थियो। समितिमा प्रेम प्रसाद पराजुली र महेन्द्र श्रेष्ठ सदस्यका रूपमा रहेका थिए।

नव–निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले पदभार ग्रहणपश्चात सम्बोधन गर्दै जिल्लाका सम्पूर्ण फोटोग्राफरहरूलाई संगठित गर्दै, पेशागत हक-हितका लागि संस्था दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाए।

कमेन्ट गर्नुहोस्
Share: