काँग्रेस कास्कीको पार्टी भवन मर्मतका लागि समिति गठन, सहयोग संकलन अभियान सुरु

Share:

पोखरा । नेपाली काँग्रेस कास्कीले आफ्नो चिप्लेढुङ्गास्थित जिल्ला पार्टी कार्यालयको मर्मत सम्भारका लागि विशेष समिति गठन गरेको छ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको पार्टी कार्यालयको पुनःनिर्माणका लागि व्यापक तयारी थालिएको हो।

काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा मर्मत सम्भार समिति गठन गरिएको छ। समितिमा सहसचिव तथा प्रवक्ता नवीन सिग्देल सदस्य सचिव, कोषाध्यक्ष माइकल कर्माचार्य, तथा सदस्यहरू बाबुराम गिरी र बुद्धिमान गुरुङ रहेका छन्।

समिति गठन सम्बन्धी निर्णय काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गरेको हो। पार्टी प्रवक्ता सिग्देलका अनुसार, भवन मर्मतमा ठूलो आर्थिक भार पर्ने भएकाले पार्टी सदस्य, शुभेच्छुक र जनसमुदायबाट सहयोग संकलन अभियान सुरु गरिएको छ। “पार्टीको इतिहास बोकेको यो भवन पुनःनिर्माण गर्न सबैको साथ र सहयोग आवश्यक छ,” सिग्देलले बताए।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी र तोडफोड हुँदा भवनको संरचनात्मक क्षति भएको थियो। काँग्रेस कास्कीले पुनःनिर्माण कार्यलाई पारदर्शी र प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: