
पोखरा । पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूला आवाजमा गुड्ने, राती होहल्ला गर्ने र समाजमा आतंक फैलाउने कार्यविरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। ‘शान्ति सुरक्षा विशेष अभियान’ नाम दिइएको यो अभियान सोमबारसाँझदेखि सुरु गरिएको हो। कास्की जिल्लाभित्र सार्वजनिक शान्ति, सुव्यवस्थामा असर पार्ने र ध्वनि प्रदूषण बढाउने जस्ता गतिविधिहरू बढेको गुनासोपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त कदम चालेको हो।
अभियान अन्तर्गत पोखराको विभिन्न स्थानमा रातको समयमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दै हिँड्ने चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केही चालकले नियन्त्रणको प्रयास गर्दा प्रहरीलेसँग झैझगडा समेत गर्ने प्रयास गरेको उल्लेख गरिएको छ। यस्ता चालकहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीका अनुसार, मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफिकेसन) गरी चर्को आवाज निकालेर हिँड्ने कार्य शान्ति सुरक्षामा बाधा पुर्याउने भएकाले अब यस्ता गतिविधिमा संलग्न ग्यारेज, वर्कसप र रीकन्डिसन हाउसका संचालकहरूमाथि पनि कारबाही हुने छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले मोटरसाइकल धनीहरूलाई आफ्नो सवारी साधन असली स्वरूपमै चलाउन अनुरोध गर्दै मोडिफाइ गरिएको पाइएमा सवारी धनी र संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिएका छन्। प्रहरीले यो ‘शान्ति सुरक्षा विशेष अभियान’ निरन्तर रूपमा सञ्चालन गरिने स्पष्ट पारेको छ।
