गण्डकी विश्वविद्यालयमा अनियमितता सार्वजनिक, जेनजी युवाहरूको प्रत्यक्ष प्रश्न: “जवाफ देउ कुलपति र रजिष्ट्रार”

Share:

पोखरा। गण्डकी प्रदेश अन्तर्गत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालय पछिल्लो समय गम्भीर अनियमितता र सत्ताको दुरुपयोगको आरोपमा घेरिँदै गएको छ। विश्वविद्यालयमा पदाधिकारी र तिनका परिवारजनलाई लक्षित गरी पद, सेवा-सुविधा र आर्थिक लाभ बाँडिएको विवरण सार्वजनिक भएपछि, जेनजी युवाहरूले खुला रूपमा विरोध जनाएका छन्।

युवाहरूको समूहमा रहेका युवा अभियन्ता विजय पराजुली, निर्दोष विक्रम पौडेल, प्रकाश वास्तोला र दिफान भुजेल लगायतका प्रतिनिधिहरूले पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत कुलपति र रजिष्ट्रारसँग प्रत्यक्ष रूपमा जवाफ माग गरेका हुन्।

“गण्डकी विश्वविद्यालयको नाममा आयोजना गरिएका अन्तर्राष्ट्रिय सम्मेलनदेखि लिएर पद-स्थापनासम्मका निर्णयहरूमा पारदर्शिता हराएको छ। नातागोता र निकट सम्बन्धका आधारमा पद तथा आर्थिक सुविधा बाँडिएको छ, जुन गम्भीर अनियमितताको उदाहरण हो।”

 “अब चुप लागेर बस्दैनौं”

सार्वजनिक रूपमा उठाइएको यस आवाजसँगै विश्वविद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ। युवाहरूले गण्डकी विश्वविद्यालय प्रदेशकै शैक्षिक गरिमा बोकेको संस्था भएकोले यसमा देखिएको भ्रष्ट आचरण भविष्यका पुस्ताका लागि विनाशकारी हुने चेतावनीसमेत दिएका छन्।

अनुसन्धान र कारबाहीको माग

उनीहरूले प्रदेश सरकार, शिक्षा मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विस्तृत छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्। यस घटनाले गण्डकी प्रदेशमा शिक्षामा राजनीतिक हस्तक्षेप र संस्थागत स्वार्थ कति हाबी छ भन्ने गहिरो सन्देश दिएको छ।

जेनजी पुस्ताले अब सिर्जनात्मक प्रतिरोध र जवाफदेही नेतृत्वको माग गर्दै यस्ता विषयहरूमा नयाँ सामाजिक चेतना फैलाउने अभियान सुरु गर्ने संकेतसमेत दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: