तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना, कुन दिन कहाँ पर्छ पानी ?

Share:

काठमाडौं । यस वर्षको तिहारमा कुनै उल्लेखनीय ठुलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

महाशाखाले तिहारका विभिन्न दिनहरूका लागि जारी गरेको मौसमी पूर्वानुमान निम्नानुसार रहेको छः

कार्तिक ३ गते (लक्ष्मी पूजा)

लक्ष्मी पूजाको दिन देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ४ गतेः

यस दिन पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुट वर्षाको सम्भावना कायमै रहनेछ ।

कार्तिक ५ गते (गोवर्धन पूजा)

गोवर्धन पूजाको दिन देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

कार्तिक ६ गते (भाइटीका)

भाइटीकाको दिन कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले तिहार अवधिभर सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि सचेत रहन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: