पोखरामा जर्मन नागरिकमाथि खुकुरी देखाउँदै अभद्र व्यवहार, २ जना पक्राउ

Share:

पोखरा। पोखराको पर्यटकीय क्षेत्र नजिकै जर्मन नागरिकमाथि खुकुरी देखाई अभद्र व्यवहार गर्ने दुई युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार बिहान करिब ९:१० बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २२ स्थित अनदु जंगलको सार्वजनिक स्थानमा जर्मनीका ६७ वर्षीय पर्यटक आन्स पिटर मार्टिन (Ans Peter Martin) एक्लै हिँडिरहेका बेला दुई जना युवाले उनलाई खुकुरी देखाई हातपात गर्ने प्रयास गर्दै अभद्र व्यवहार गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनामा संलग्न २ जना व्यक्तिलाई घटनास्थलनजिकैबाट नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट एक थान खुकुरी समेत बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ निवासी २४ वर्षीय नविन विक  तथा तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. ५ निवासी २१ वर्षीय विशाल दर्लामी रहेका छन्।

दुवैजनामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी स्रोतका अनुसार विदेशी नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्ने बताउँदै यस्ता घटनामा संलग्नलाई कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: