
काठमाडौं । इजरेली सेनाका अनुसार हमास समूहद्वारा बन्धक बनाईएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज सोमबार दिउँसो स्वदेश आइपुग्दैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २:३० बजे शव अवतरण हुने बताइएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार शव आगमनपछि प्रधानमन्त्री सुशीला कार्की स्वयं विमानस्थल पुगेर विपिनप्रति राष्ट्रिय श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। शव आगमनपश्चात नेपाली सेनाको संयोजनमा कञ्चनपुरस्थित स्व. विपिनको गृहनगर भीमदत्त नगरपालिका-३, विचपुरी माल्लिकार्जुन टोलसम्म पुर्याइनेछ।
मंगलवार अन्तिम संस्कार, महाकाली किनारमा दिइनेछ विदाइ
विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा अमेरिका बसाइपछि नेपाल फर्किसकेका छन्। परिवारका अनुसार सोमबार अन्तिम संस्कार सम्भव नभएकोले मंगलबार विपिनको दाहसंस्कार गरिनेछ। विपिनका दाजु तुल्य किशोर जोशीले बीबीसीसँग कुरा गर्दै भने, “काठमाण्डूमा सरकारको औपचारिक श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएपछि मंगलबार गाउँमा अन्तिम संस्कार गर्ने तयारी गरेका छौं।” विपिनको अन्तिम बिदाइ गाउँकै महाकाली नदी किनारमा गरिने भएको छ।
इजरेलमै आयोजित भावुक श्रद्धाञ्जली समारोह
विपिनको शव नेपाल पठाउनुअघि इजरेलको बेन गुरिओन विमानस्थलमा विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा इजरेली सरकारका प्रतिनिधि, तेल अभिभस्थित नेपाली दूतावासका अधिकारी, नेपाली समुदाय तथा अन्य बन्धक पीडित परिवारका प्रतिनिधिहरूको उपस्थिति थियो। इजरेली अधिकारीहरूले “लर्न एण्ड अर्न” कार्यक्रम अन्तर्गत अध्ययन गर्न आएका विपिनलाई बचाउन नसकेको पीडा सार्वजनिकरूपमा व्यक्त गरे।
विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा बन्धक परेका थिए। आक्रमणको समयमा उनले हमासले फ्यालेको ग्रिनेड उठाएर बङ्करबाहिर फ्यालेको एक प्रेरणादायी घटना सार्वजनिक भएको छ।
धनबहादुर चौधरी नामका उनका एकजना साथीले बीबीसीसँग भनेका छन्,
“यदि विपिनले त्यो ग्रिनेड नफालेको भए म आज बोलिरहेको हुने थिइनँ। उनकै कारण हामी बाँचेका हौं।” यो साहसपूर्ण कार्यले विपिनलाई नायक बनाएको छ, जसको सम्झनामा सम्पूर्ण देश शोकाकुल छ तर गर्वित पनि।
कसरी भयो यो भयावह घटना ?
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा गराएको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। ती सबैजना सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषिविज्ञान संकायबाट “लर्न एण्ड अर्न” कार्यक्रमका लागि इजरेल गएका थिए।
गाजाको सीमावर्ती कृषि फार्ममा कार्यरत १७ नेपालीमध्ये १० जनाको मृत्यु भयो, ४ जना घाइते भए भने विपिन सम्पर्कविहीन थिए। पछि उनलाई बन्धक बनाइएको पुष्टि भएको थियो।
देशको नाम गाजामा बोकेर गएका विपिन जोशी अब फर्किंदैछन् – तर शरीरमा होइन, श्रद्धामा। उनको साहस, समर्पण र बलिदान सधैँ नेपाली जनताको हृदयमा अमर रहनेछ।
