
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समय (आगामी फागुन २१) मा नै भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा ११ वटा राजनीतिक दलहरुसँगको संवादमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्,’यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ ।’
दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन्,’यसबिचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो ।’
उनले अगाडि भनिन्,’सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन । राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ । अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ ।’
उनले चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने समेत बताइन् । दलहरूले व्यक्त गरेको चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको समेत प्रधानमन्त्री कार्कीले बताइन् । छलफलमा सहभागी दलहरूले आगामी निर्वाचन भयरहित हुनुपर्नेमा जोड दिएका थिए ।
