
पोखरा। कास्की जिल्लामा जुवातासविरुद्ध जारी प्रहरीको अभियान अन्तर्गत पोखरा महानगरपालिका-१६, माथिल्लो दीपबाट जुवातास खेलिरहेको अवस्थामा थप ७ जना पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले कात्तिक ४ गते साँझ करिब ४:३० बजे उक्त स्थानमा छापा मार्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुसँगै प्रहरीले ४ बुक तास र नगद २ लाख ९५ हजार ६ सय ७५ रुपैयाँ पनि बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार हालसम्म जुवातास सम्बन्धी अनुसन्धानको क्रममा कास्की जिल्लाबाट कुल २७ जना व्यक्तिहरु पक्राउ परिसकेका छन्। ती व्यक्तिहरुसँगबाट जम्मा नगद ८लाख ९७ हजार ७ सय ८० रुपैयाँ बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतले जुवातास, सट्टेबाजी लगायतका अवैध क्रियाकलापविरुद्ध प्रहरीको निगरानी अझ कडा बनाइएको जानकारी दिए।
“समाजमा नकारात्मक असर पार्ने यस्ता क्रियाकलापलाई नियन्त्रणमा लिन प्रहरी सतर्क छ, यस्ता अभियानहरु निरन्तर चल्नेछ,” वस्नेतले बताए।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।
