
काठमाडौं। लामो समयदेखि ट्रंकलाइन महसुल विवादमा फँसेका बुटवल-भैरहवा औद्योगिक करिडोरका उद्योगहरूको बिजुली नेपाल विद्युत् प्राधिकरणले शुक्रबार साँझदेखि काटिदिएको छ।
प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड्स, भलबारी चामल मिल, घराना फुड्स, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए।
उद्योगीहरूका अनुसार उनीहरूले ट्रंक लाइनको माग नै नगरेका, न त त्यस सम्बन्धमा कुनै सहमति वा सम्झौता गरेका थिए। तर, चार वर्षपछि ६७ प्रतिशतले बढाइएको दरमा बक्यौता बिल पठाउँदा आफूहरू अन्यायमा परेको दाबी गर्दै आएका छन्।
२०७५ मा गठन भएको प्राधिकरणकै अध्ययन समितिले पनि यी उद्योगहरू ट्रंक लाइनको “भौतिक परिभाषा” मा त परे पनि, आन्तरिक लोड मिलानका कारण मात्रै सो लाइनमा जोडिएको भन्दै सामान्य दरमा महसुल लिनुपर्ने राय दिएको थियो।
तर, हाल ऊर्जामन्त्री समेत रहेका प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले पुनरावलोकन समिति नै बदर गरेपछि विवाद झन् चर्किएको छ। उद्योगीहरूले यस कदमलाई “न्यायको ढोका बन्द गर्ने” कार्य भनेका छन्।
‘हामीले माग नै नगरेको बिजुलीको बक्यौता तिर्न सक्दैनौं,’ पञ्चकन्या समूहका महाप्रबन्धक साहूले भने, ‘पूर्वका उद्योग र रुपन्देहीका उद्योगको समस्या फरक छ, तर हामी इगोको सिकार भएका छौं।’
उद्योगीहरूले ट्रंक लाइन महसुल तिर्नु पर्ने कानुनी मापदण्ड -कम्तीमा २० घण्टा निरन्तर आपूर्ति र ६ घण्टाभन्दा बढी लोडसेडिङ नहुने पूरा नभएको दाबी गरेका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यका अनुसार जबरजस्ती महसुल तिराउन खोजिए डेढ दर्जन उद्योग स्थायी रूपमा बन्द हुने, करिब २५ हजार श्रमिक बेरोजगार हुने र बैंक तथा वित्तीय संस्थासमेत संकटमा पर्ने खतरा छ।
उनी भन्छन्, ‘जेन जी आन्दोलनपछि उद्योगीको मनोबल पहिले नै कमजोर छ, अहिले फेरि प्रमाणबिना बक्यौता तिराउन खोज्नु भनेको निजी क्षेत्र र रोजगारी दुवैमा प्रहार हो।’
हाल विवाद समाधानका लागि वैकल्पिक बाटो बन्द भएपछि उद्योगीहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै “बिजुली काटेर उद्योग बन्द गराउने” नीति तत्काल रोक्न माग गरेका छन्।
