भारतकी स्टार सोनमसँग भिड्दै गण्डकीकी सुस्मिता थापा मगर

Share:

पोखरा । तेक्वान्दोबाट आफ्नो खेलजीवन सुरु गरेकी गण्डकीकी सुस्मिता थापा मगर अहिले मुवाथाई र किक बक्सिङको उदाउँदो तारा बनेकी छन्। यही नोभेम्बर ६ मा उनी भारतको अरुणाचल प्रदेशमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपमा भारतकी चर्चित फाइटर सोनम जोम्बासँग मेन इभेन्टमा भिड्दै छिन्।

यो फाइट सुस्मिताको करियरकै सबैभन्दा ठूलो र महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भारतकी एमएफएन (Matrix Fight Night) च्याम्पियन सोनम जोम्बा अनुभवी र चर्चित MMA स्टार हुन्। उनी हालसम्म ८ प्रोफेशनल फाइटमध्ये ७ मा जित हासिल गरिसकेकी छिन्।

२१ वर्षीया सुस्मिता भने मुवाथाईमा अपराजित खेलाडी हुन्। यद्यपि, किकबक्सिङमा उनको रेकर्ड १–१ रहेको छ। फाइटिङ करियर सुरु भएको केवल एक वर्षमै उनले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा मेन इभेन्ट फाइट पाउने अवसर प्राप्त गरेकी हुन्, जुन ठूलो उपलब्धि मानिन्छ।

सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीका अनुसार यो फाइट सुस्मिताका लागि अवसर र चुनौती दुवै हो। हाल उनी रिब्समा लागेको चोटबाट पूर्णरूपमा निको नभए पनि, ठूलो प्रतिस्पर्धा भएकाले खेल्न तयार भएकी छन्।

“यो भिडन्त दुई फरक शैली र पृष्ठभूमिका फाइटरबीचको टक्कर हुनेछ भन्ने विश्वास लिएको छौं। हामी सीमापार गएर आफ्नो देशको झण्डा उच्च पार्ने दृढ निश्चयका साथ रिङमा उत्रनेछौं,” प्रशिक्षक खगेन्द्र क्षेत्री

भारतकी सोनम जहाँ अनुभव, शक्ति र घरेलु समर्थनको फाइदा लिइरहेकी छन्, त्यहाँ सुस्मिता भने उत्साह, दृढता र राष्ट्रिय गौरवको भावनाका साथ रिङमा उत्रने तयारीमा छिन्।

नोभेम्बर ६ को साँझ, अरुणाचलको मञ्चमा नेपाल र भारतबीचको यो रोमाञ्चक भिडन्तले दुई देशका खेलप्रेमीहरूलाई मोहनी पार्ने पक्का देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: