
काठमाडौं । विद्युत प्राधिकरणले बक्यौता तिर्न नमान्ने उद्योगहरूको लाइन धमाधम काटेपछि देशभरको उद्योग क्षेत्र तातेको छ। पछिल्ला दुई दिनमै ६ उद्योगपछि थप १८ उद्योगको विद्युत् आपूर्ति बन्द गरिएसँगै उद्योगीहरू खुलेआम आक्रोशित भएका छन्।
पञ्चकन्या, शिवम्, गोयन्का, जगदम्बा लगायत ठूला समूहका ३० उद्योगहरूले भोलिदेखि प्राधिकरणलाई ताला-चाबी बुझाउने तयारी गरेको बताइन्छ। उद्योगीहरूले यस कदमलाई “अत्यधिक कठोर र व्यवसायमाथिको आघात” भन्दै सरकार र प्राधिकरणविरुद्ध संघर्षको चेतावनी दिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ भने अडानमा अडिग छन्। उनले भने, “जसरी पनि महसुल असुल्छौं, बिजुली बालेर बिल नतिर्नेहरूको समर्थन गर्न सकिँदैन। सत्ता र शक्तिको आडमा विद्युत् चोरी वा बक्यौता रोक्नु अपराध नै हो।”
उद्योगीहरू भने महामारीपछिको आर्थिक मन्दी र बजार संकटका कारण बक्यौता तिर्न नसकेको दाबी गर्दै सरकारसँग राहत र पुनःसंरचनाको माग गरिरहेका छन्।
बक्यौता असुली अभियानलाई लिएर सरकारले पछिल्लो समय कडाइ बढाएसँगै उद्योग क्षेत्र र सरकारबीचको तनाब नयाँ उचाइमा पुगेको छ। आगामी दिनमा यस विवादले ऊर्जा नीतिबाट उद्योग नीति नै हल्लाउने संकेत देखिएको छ।
