बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको नयाँ नेतृत्वमा मित्रलाल भण्डारी

Share:

पोखरा । बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको तेस्रो अधिवेशनले मित्रलाल भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशन संस्थाको पाँचौँ साधारणसभासँगै एक विशेष समारोहका बीच सम्पन्न भएको हो।

नवनिर्वाचित समितिमा उपाध्यक्ष शान्ति खनाल, सचिव गंगाराम सुवेदी र कोषाध्यक्ष सनकराज लामिछाने चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सिता कार्की, कल्पना अधिकारी, भरतराज ढकाल, निरंजन विक, सोमराज कँडेल, विश्वनाथ तिवारी, फूलमाया बराल, शक्ति कोइराला र पुष्पराज भण्डारी रहेका छन्।

अधिवेशनको उद्घाटन गर्दै पूर्वन्यायाधीश डिल्लीरमण तिवारीले बेगनासतालको विकासमा स्थानीय नेतृत्व, अनुभवी व्यक्तिहरूको उत्साह र सहकार्यले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले बेगनासताललाई विश्वकै आकर्षक धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने दिशामा संस्थाको प्रयास प्रशंसनीय रहेको बताए।

निर्वाचन संयोजक राममणी अधिकारीले पोखराको प्राकृतिक सौन्दर्य र धार्मिक महत्वसहितको बेगनासतालको दिगो विकासका लागि सबै सरोकारवालाको हातेमालो अपरिहार्य रहेको बताए।

कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा निवर्तमान सचिव शान्ति खनाल र कोषाध्यक्ष गंगाराम सुवेदीले विगत वर्षको प्रगति प्रतिवेदन र आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे।

सो अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष बिभद्र कँडेल, पत्रकार कविराज खनाल लगायत वक्ताहरूले बेगनासताललाई धार्मिक, सांस्कृतिक र पर्यटनको समृद्ध केन्द्रका रूपमा विकास गर्न संयुक्त प्रयासको आवश्यकता औंल्याए।

बेगनासतालको पहिचान संरक्षण र पर्यटन प्रवर्द्धनमा नयाँ नेतृत्वको सुरुवातसँगै स्थानीयहरूमा नयाँ आशा जागेको छ।

कमेन्ट गर्नुहोस्
Share: