
पोखरा । फेवातालको छेउ, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको काख र निलो आकाशमुनि । पोखरा यतिबेला प्याराग्लाइडिङको रोमाञ्चक रौनकमा रंगिएको छ। अनुकूल मौसमसँगै आन्तरिक र बाह्य पर्यटकले आकाशबाट पोखराको सौन्दर्य नियाल्ने उत्साहका साथ उडान भरिरहेका छन्।
पर्यटकका अनुहारमा देखिने मुस्कानले र सुस्ताएको व्यवसायमा फर्किएको चहलपहलले पोखराका प्याराग्लाइडिङ व्यवसायीमा पनि नयाँ ऊर्जा थपिएको छ। नेपालभरका पर्यटकका लागि साहसिक खेलको प्रमुख गन्तव्य बनेको पोखरामा अहिले दैनिक करिब २५० प्याराग्लाइडिङ उडानहरू भइरहेका छन्।
“चराजस्तै उड्ने सपना पूरा भयो”
नवलपुरकी सविना मगरले पहिलो पटक आकाशबाट पोखराको दृश्य नियाल्दा भावुक अनुभव सुनाइन्। “चराजस्तै उड्ने चाहना बाल्यकालदेखि थियो,” उनले हाँस्दै भनिन्, “पहिले डर लाग्थ्यो, तर आज त्यो डर जितेर उड्न सकेँ। फेवाताल, हिमाल र हरियाली एकैसाथ देख्दा लाग्यो, म वास्तवमै पोखराको आकाशमा छु।”
नेपालगञ्जका सुजित जोशी पनि साहसिक खेलका नियमित पारखी हुन्। बञ्जी र स्विङपछि उनले फेरि पनि पोखराको आकाश रोजे। “मौसम खुलेको दिनमा पोखराको सुन्दरता आकाशबाट हेर्दाको आनन्द अवर्णनीय हुन्छ,” जोशी भन्छन्, “ताल, पहाड र हिमालको संगमले यो अनुभव विशेष बनाउँछ।”
बढ्दो पर्यटक आगमन
पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईका अनुसार प्याराग्लाइडिङ पोखराको पर्यटन प्रवर्द्धनको मुख्य माध्यम बनेको छ।
“यो केवल साहसिक खेल होइन, आकाशबाट पोखराको सुन्दरता देखाउने झ्याल हो,” उनले भने, “यसले पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिन मद्दत गरेको छ।”
नेपाल हवाई खेलकुद संस्था (नासं) का अध्यक्ष अनिल केसीका अनुसार हालको मौसम प्याराग्लाइडिङका लागि आदर्श छ। “दैनिक करिब २५० उडान भइरहेका छन्,” उनले भने, “कोभिडअघि ५०० भन्दा बढी उडान हुने गर्थ्यो। अहिले विस्तारै व्यवसाय पुनः सक्रिय बन्दैछ।”
५२ कम्पनी, ४०० पाइलट
पोखरामा हाल ५२ प्याराग्लाइडिङ कम्पनी दर्ता छन्। तीमध्ये ४०० लाइसेन्स प्राप्त प्यारापाइलट मध्ये करिब २६० जना सक्रिय रूपमा उडानमा संलग्न छन्। यस क्षेत्रले करिब ५ सय प्रत्यक्ष र १५ सय अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। कुल लगानी करिब रु ५५ करोड रहेको केसीले बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै प्याराग्लाइडिङलाई मान्द्रेढुङ्गा क्षेत्रमा स्थानान्तरण गरिएको थियो, जसले व्यवसायमा मन्दी ल्याएको थियो। तर नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा पुरानै अवतरणस्थल पुनः सञ्चालनमा आएपछि क्षेत्र फेरि चलायमान बनेको छ।
अब सराङकोट र तोरीपानी (बाहाकोट) बाट उडान भइ खपौदी (इन्ड अफ लेक) मा अवतरण हुने गरेको छ। “अघिसम्म चुनौतीपूर्ण थियो, अब उडानहरू पुनः बढ्दै छन्,” नाका उपाध्यक्ष माधव तिवारीले भने, “पहिले १२ हजार रुपैयाँ शुल्क लिइन्थ्यो, अहिले ८ हजार ५०० मा उड्न सकिन्छ।”
नेपालमा प्याराग्लाइडिङको इतिहास सन् १९९७ मा पोखराको सराङकोटबाट सुरु भएको हो। सनराइज प्याराग्लाइडिङले पहिलो उडान भरेको थियो। अहिले सबै कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर, नेपाल नागरिक उड्डयन प्राधिकरणको आरएओसी अनुमतिअन्तर्गत उडान सञ्चालन गर्नुपर्छ।
