
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथले पश्चिम नेपालका पर्यटकीय गन्तव्यमा केन्द्रित विशेष प्रचार-प्रसार अभियान थालेको छ । नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि सुरु भएको “पश्चिम नेपालमा जाउँ है, बेगनास पोखरा” कार्यक्रम लेखनाथ क्षेत्रका पर्यटन व्यवसायीहरूको अग्रसरतामा सञ्चालन गरिएको हो ।
एशोसिएसनका अध्यक्ष वीरभद्र कँडेलका अनुसार बुटवल, बर्दिया, सुर्खेतलगायत पश्चिमका प्रमुख सहरहरूमा पोखरा–लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ३७ सदस्यीय प्रतिनिधिमण्डल निस्किएको छ । “आन्तरिक पर्यटनलाई सशक्त बनाउँदै आपसी साझेदारीमार्फत दुवै क्षेत्रलाई लाभान्वित बनाउने हाम्रो उद्देश्य हो,” उनले बताए ।
कार्यक्रमको पहिलो चरणमा टोलीले लुम्बिनी प्रदेशको बुटवलमा स्थानीय पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेको छ । सो अवसरमा एशोसिएसनका सल्लाहकार तथा पोखरा भ्रमण वर्ष २०२५ का सह–संयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचीमा सूचीकृत बेगनासताल, रुपातालसहित सात तालले विशाल पर्यटकीय सम्भावना बोकेको बताए । उनले बुटवलका व्यवसायीलाई पोखरा–लेखनाथ क्षेत्र भ्रमण गर्न र साझेदारी विस्तार गर्न आग्रह गरे ।
त्यसैगरी एशोसिएसनका अध्यक्ष कँडेलले भने, “पोखरामा आउने पर्यटकलाई बुटवल पठाउने र बुटवलमा आउने पर्यटकलाई पोखरा पठाउने सहकार्यले दुवै पक्ष लाभान्वित हुनेछन्।”
रुपन्देहीका होटल तथा रेष्टुरेन्ट एशोसिएसन अध्यक्ष माधवकुमार खनालले पनि साझेदारीमा सहमति जनाउँदै भने, “हामी पोखरा–रुपन्देही पर्यटन सहकार्यका लागि सधैं तयार छौं । बुटवल आउने पर्यटकलाई पोखरा पठाउने काम पहिले नै सुरु भइसकेको छ ।”
पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले भाइचारामूलक साझेदारीले दुवै गन्तव्यको पर्यटकीय आकर्षण र आम्दानी बढाउने विश्वास व्यक्त गरे ।
तीन दिने यो प्रवर्द्धनात्मक अभियानका क्रममा टोलीले बर्दिया र सुर्खेतसम्म पुगेर त्यहाँका पर्यटन व्यवसायीहरूसँग छलफल र अन्तरक्रिया गर्नेछ । एशोसिएसनका महासचिव सुरेश लामिछानेका अनुसार भ्रमणपछि टोली पोखरा फर्किनेछ र अभियानलाई देशका अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना बनाइरहेको छ ।
कार्यक्रममा बुटवल क्षेत्रका पर्यटन व्यवसायी, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
