हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान तथा अन्नकूट महोत्सव सम्पन्न

Share:

पोखरा। श्री लक्ष्मीनारायण मन्दिर, नारायणस्थानका पीठाधीश्वर अनन्त श्री विभूषित श्रीमज्जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पावन सत्संकल्पमा श्री हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रद्वारा आयोजना गरिएको चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न भएको छ।

गत असार २२ गते हरिशयनी एकादशीदेखि प्रारम्भ भई कार्तिक शनिबार १५ गते हरिवोधनी एकादशीसम्म चार महिनासम्म निरन्तर चलेको यस आध्यात्मिक साधना एवं व्रत अनुष्ठानले भक्तजनहरूमा असाधारण भक्ति, श्रद्धा र साधनाप्रति जागरण ल्याएको थियो ।

 

समापन समारोहमा रामार्चन पूजा र अन्नकूट महोत्सव विशेष आकर्षण बनेका थिए। भगवानलाई ५६ भोग अर्पण गरी अन्नको पर्वत (अन्नकूट) निर्माण गरिएको र त्यसपछि भक्तजनहरूबीच प्रसाद वितरण गरिएको थियो। यज्ञमण्डपमा वैदिक मन्त्रोच्चारणका बीच भक्तहरूले गहिरो भावनासहित पुष्पाअर्चन, यज्ञ श्रवण र प्रसाद ग्रहण गर्दै आध्यात्मिक आनन्दको अद्भुत अनुभूति गरे।

आयोजक समितिका अनुसार, महायोगी सिद्धबाबा सद्गुरुदेवको कृपा र सद्संकल्पले सम्पन्न यस चतुर्मास व्रत अनुष्ठानले असंख्य भक्तहरूमा भक्ति, सदाचार र आध्यात्मिक चेतनाको नवीकरण गरेको छ। कार्यक्रममा सहभागी भक्तजनहरूले गुरु कृपाको दिव्य अनुभूति पाएको उल्लेख गर्दै यस अवसरलाई जीवनका दुर्लभ आध्यात्मिक क्षणका रूपमा स्मरणीय रहेको बताएका छन्।

 

 

कमेन्ट गर्नुहोस्
Share: