पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, गण्डकीसहित पश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने

Share:

काठमाडौं। नेपालको पश्चिमी भूभागमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको असरका कारण मंगलबार साँझदेखि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति पनि सो प्रणालीको प्रभाव जारी रहने भएकाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी बाँकी पहाडी भूभागका एक/दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली क्रमशः देशको मध्य र पूर्वी भागतर्फ सर्दै जाने भएकाले आगामी केही दिनसम्म पश्चिमी तथा मध्य पहाडी भूभागमा मौसम बदली रहने र तापक्रम घट्ने सम्भावना रहेको छ।

महाशाखाले उच्च हिमाली क्षेत्रका बासिन्दा, चरवाहा तथा यात्रुहरूलाई सावधानी अपनाउन र यात्रा गर्दा मौसम सुचित भएर मात्र निस्कन सुझाव दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: