पोखराका व्यवसायीको सरकारसमक्ष जोडदार माग, व्यावसायिक वातावरण सुधार र राहत प्याकेज तुरुन्त कार्यान्वयनको आग्रह

Share:

पोखरा। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासँग भेट गरी देशको आर्थिक गतिविधि सुदृढ बनाउन तथा व्यावसायिक वातावरण निर्माणका लागि ठोस कदम चाल्न सरकारसमक्ष विभिन्न सुझावहरु पेश गरेको छ ।

अध्यक्ष कार्कीका अनुसार प्रतिनिधिमण्डलले जेन–जी आन्दोलनका क्रममा भौतिक र मानसिक क्षति बेहोरेका व्यवसायीका लागि घोषित राहत प्याकेज तुरुन्त कार्यान्वयन गर्न, साथै आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन विशेष जोड दिएको थियो ।

“हामीले आन्दोलनपछिको आर्थिक मनोबल, लगानी पलायनको चिन्ता र अर्थतन्त्र सुधारका उपायबारे विस्तृत छलफल गर्यौँ,” कार्कीले भने, “मन्त्रीज्यूहरु हाम्रो सुझावमा सकारात्मक हुनुभयो र सरकार व्यावसायिक वातावरण सुधारको दिशामा गम्भीरतापूर्वक अघि बढिरहेका छन्।”

प्रतिनिधिमण्डलले कोरोला नाकाको दीगो सञ्चालनका लागि भौतिक पूर्वाधार विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको प्रारम्भका लागि सार्थक पहल, तथा पोखरामा नयाँ औद्योगिक क्षेत्र स्थापना र विद्यमान औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

अध्यक्ष कार्कीका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापनमा बढ्दो राजनीतिक हस्तक्षेप, भन्सार छली र अवैध व्यापार नियन्त्रण, र कर्जा प्रावधानका कारण व्यवसायीले भोगिरहेको कठिनाइ समेत मन्त्रीहरूसमक्ष उठाइएको थियो ।

संघकी महासचिव शोभा गौतमले सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा पोखरामा सुख्खा बन्दरगाह (ड्राई पोर्ट) निर्माणको माग समेत राखिएको जानकारी दिइन् ।

त्यस्तै, संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको बताउँदै, “सुशासन र व्यावसायिक वातावरण निर्माणका लागि निजी क्षेत्र सधैँ सरकारसँग सहकार्य गर्न तयार छ,” भन्ने भने।

प्रतिनिधिमण्डलमा पोखराका विभिन्न व्यावसायिक संघ–संस्थाका पदाधिकारी तथा उद्योगी–व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: