
पोखरा । नेपालको वर्तमान राजनीतिक संकट समाधानका लागि नागरिक समाज कास्कीले समन्वयवादी र मध्यममार्गी राजनीतिक पहलको आवश्यकता औंल्याएको छ। बिहीबार समाजले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत राष्ट्रपतिलाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदै सर्वपक्षीय राजनीतिक सम्मेलन आह्वान गर्न माग गरेको हो।
संस्थापक संयोजक रामबहादुर पौडेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो। टोलीमा सह–संयोजक दुर्गाकुमारी शर्मा, प्रवक्ता गोकुलबहादुर कार्की, पूर्व संयोजक विष्णुहरि अधिकारी र संस्थापक सदस्य शशि तुलाचन पनि सहभागी थिए।
ज्ञापनपत्रमा भनिएको छ, “सरकारका कार्यक्रमहरूलाई बिना शर्त स्वीकार गर्ने वा सडकबाटै हटाउने दुवै बाटो देशका लागि पीडादायी छन्। त्यसैले समन्वय र संवादमा आधारित मध्यममार्ग नै वर्तमान गतिरोधको समाधान हो।”
नागरिक समाजका प्रमुख मागहरूमा सर्वपक्षीय राजनीतिक सम्मेलन आह्वान गरी सबै राजनीतिक दल, जेनजी र नागरिक अगुवाको सहभागिता सुनिश्चित गर्न संविधान संशोधन गरेर निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्न,
,संसद पुनःस्थापना गरी संक्रमणकालीन सहमतिमा आधारित अन्तरिम सरकार गठन गर्न, संवैधानिक संशोधन प्रक्रिया तोकिएको अवधिभित्र सम्पन्न गरी त्यसपछि संसद विघटन गर्न तथा संवैधानिक सरकारबाटै आम निर्वाचन गराउने व्यवस्था गर्न रहेका छन् ।
ज्ञापनपत्रमा नागरिक समाजले लोकतान्त्रिक प्रणालीमा जनताको विवेक र मताधिकारको सर्वोच्चता कायम राख्दै शान्तिपूर्ण निर्वाचनमार्फतै स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
उनले भनेका छन्, “जनताको मतबाट बनेको वैधानिक र जनउत्तरदायी सरकार नै अस्थिरता र अविश्वासको अन्त्य गर्ने एकमात्र बाटो हो।” प्रमुख जिल्ला अधिकारी शर्माले नागरिक समाजको पहलको प्रशंसा गर्दै ज्ञापनपत्रलाई गृह मन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पठाइने जानकारी दिइन्। उनले भनिन्, “नागरिक समाजले मुलुक र जनताको हितमा निःस्वार्थ रुपमा आवाज उठाउँदै आएको छ। यस्तो सकारात्मक पहल राज्यका सबै निकायका लागि प्रेरणादायी हो।”
