
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पछिल्लो ‘जेनजी’ आन्दोलनलाई देशको रूपान्तरणको ऐतिहासिक चेतावनीका रूपमा स्वीकार गर्दै सरकार सुशासन, पारदर्शिता र निजी क्षेत्रको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छिन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उद्योगी-व्यवसायीलाई “आर्थिक समृद्धिको जगका विशाल ढुंगा” को संज्ञा दिँदै, निजी क्षेत्रबिना मुलुकको आर्थिक रूपान्तरण सम्भव नभएको स्पष्ट गरिन्।
प्रधानमन्त्रीले भनिन्, “हामी रूपान्तरणको संक्रमणकालमा छौं। रेमिट्यान्स, प्राकृतिक स्रोत र पर्यटनका बलिया जग हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनले देशले आफ्नो मेहनतको फल पाउन सकेको छैन।”
उनका अनुसार भदौको जेनजी आन्दोलन’ ले घुसखोरी, कमिसनको सञ्जाल र लुटतन्त्रको अन्त्यसहित इमानदार उद्यमीको सम्मान सुनिश्चित गर्न स्पष्ट सन्देश दिएको छ। उनले आन्दोलनका क्रममा प्रभावित उद्योग-व्यवसायीलाई तत्काल राहत र सहयोग पुर्याउँदै निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन्।
प्रधानमन्त्री कार्कीले सुशासनलाई सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त बताउँदै, कानुनको शासन र सुरक्षाको प्रत्याभूति दिन सरकार सक्रिय रहेको स्पष्ट गरिन्।
उनले भनिन्, “उद्योगीको मनोबल उठ्न सकेन भने अर्थतन्त्र उठ्दैन। त्यसैले निजी क्षेत्रको माग सम्बोधन र लगानीमैत्री वातावरण निर्माणमा सरकार निरन्तर सहकार्य गर्दैछ।”
प्रधानमन्त्रीले रेमिट्यान्समा निर्भर अर्थतन्त्रबाट बाहिर निस्केर उत्पादन-मुखी नीतिमा फोकस गर्ने, पुँजीगत खर्च तीव्र पार्ने र लगानी अवरोध गर्ने नीतिगत जटिलता हटाउने अभियानमा सरकार लागेको जानकारी दिइन्।
निर्वाचन र निजी क्षेत्रको भूमिका
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सरकार पूर्ण रूपमा तयारीमा रहेको बताउँदै उनले निजी क्षेत्र, किसान र युवाहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गरिन्। “हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन,” प्रधानमन्त्री कार्कीले जोड दिइन्।
