
काठमाडौं । घोराही (दाङ) दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ। घोराहीमा रहेको जिल्ला अदालत कार्यालय, ट्राफिक प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका-१५ स्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँका २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय विवेक पुन मगर, सल्यानको छत्रेश्वरी गाउँपालिका-४ का २६ वर्षीय अमरबहादुर वली, घोराही-१३ का २९ वर्षीय महेश घिमिरे, घोराही-९ ढिकपुरका शरद् बस्नेत र घोराही-१३ का २५ वर्षीय सन्दीप घर्ती रहेका छन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्लास्थित सरकारी कार्यालय तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएको थियो।
