
पोखरा। माछापुच्छ्रे गाउँपालिका-६ कास्कीको हेम्जाकोट गाउँ अहिले नयाँ पर्यटकीय गन्तव्यका रूपमा तीव्र रूपमा चम्किँदै छ। माछापुच्छ्रे हिमालको टल्किने शृङ्खला, हरियालीले ढाकिएको वनजङ्गल र ढुङ्गाले छापिएका परम्परागत घरहरूले यो गाउँलाई अद्वितीय आकर्षण प्रदान गरेका छन्।
हेम्जाकोटको प्राकृतिक सौन्दर्यसँगै यसको ऐतिहासिक महत्त्व पनि उल्लेखनीय छ। सामुदायिक हेम्जाकोट होमस्टेका अध्यक्ष ईश्वर गुरुङका अनुसार, बाइसे–चौबीसे राजाहरूको पालामा गाउँमाथिको ‘कोट’ अर्थात् दरबारबाट नै हेम्जाकोट नामकरण गरिएको हो। गाउँमाथिको अर्को टाकुरा ‘जयकोट’ मा बलिपूजा गर्ने प्रचलन आज पनि जीवित छ, जहाँ बलिको प्रसाद महिलाले घरमा लैजान नहुने विश्वास रहिआएको छ।
२०७२ सालमा पर्यटन मन्त्रालयले “उत्कृष्ट गाउँ पर्यटन गन्तव्य” घोषणा गरेको हेम्जाकोटमा २०६२ सालदेखि होमस्टे सञ्चालनमा आएको हो। हाल १२ वटा घरमा होमस्टे सञ्चालन हुँदै आएका छन्, जसमा करिब ८० जना पाहुना एकैपटक बस्न सक्ने व्यवस्था छ। स्थानीयहरूले पाहुनाका लागि खाजा, बेलुकाको खाना, बास र बिहानको नास्तासहित प्रतिव्यक्ति १,२०० रुपैयाँको आकर्षक प्याकेज उपलब्ध गराएका छन्।
पोखराको सिमपानीबाट करिब १८ किलोमिटर दूरीमा रहेको यो गुरुङ बस्ती माछापुच्छ्रे मोडल ट्रेक मार्गमा पर्ने भएकाले स्वदेशी र विदेशी दुवै पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार, शान्त परिवेश, गुरुङ समुदायको मौलिक संस्कृति, पारम्परिक पाहुना सत्कार र हिमालको मनोरम दृश्यावलोकन हेम्जाकोटको विशेषता हुन्।
पछिल्लो समय हेम्जाकोट म्युजिक भिडियो र चलचित्र छायाङ्कनका लागि पनि लोकप्रिय बन्दै गएको छ। प्राकृतिक सुन्दरतासँगै संस्कृति र आतिथ्यको संगम बनेको हेम्जाकोट अब पोखरा आसपासको ‘हिड्नैपर्ने’ पर्यटकीय स्थलको रूपमा परिचित हुँदैछ।
