प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, को हुन् उनी ?

384
0
Share:

काठमाडौं। नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए।

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गर्दै आएका वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएकाले सरकारले आजै नयाँ आईजीपी नियुक्त गरेको हो। कार्कीले यसअघि काठमाडौं उपत्यकाको कमाण्ड सम्हाल्दै २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रभावकारी नेतृत्व देखाएका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत व्यवस्थापन विभागका प्रमुखका रूपमा कार्यरत थिए।

डीआईजी रहँदा कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए भने एसएसपीका रूपमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व सम्हाल्दा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेको थियो।

काठमाडौंबाट उपत्यकासम्मको चुनौतीपूर्ण जिम्मेवारी सफलता साथ पूरा गर्दै आएका कार्की इमान्दार र दक्ष प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनी फिल्डदेखि आईजीपी सचिवालयसम्मको विविध अनुभव बोकेका छन् र कुनै आर्थिक विवादमा नमुछिएका प्रहरी अधिकारीका रूपमा चिनिन्छन्।

विदेशी तालिम प्राप्त कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताका रूपमा पनि कार्य गरिसकेका छन्। कार्कीको काँधमा प्रहरीको कमाण्ड पुगेसँगै एक नम्बरमा रहेका कार्कीलाई रोक्न हात धोएरै लागेका विचौलियाहरुको सेटिङ भत्किएको चर्चा छ ।

को हुन् नवनियुक्त महानिरीक्षक कार्की ?

गुल्मी जिल्लाको मालिका गाउँपालिका-७, घमिरमा २०२९ साल साउन १५ गते जन्मिएका कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा मानविकी, शिक्षाशास्त्र र कानुनमा स्नातक गरेका छन्। २८ वर्ष लामो सेवा अवधिमा उनले फिल्डदेखि नीतिगत तहसम्मको अनुभव बटुलेका छन्।

कार्कीको व्यावसायिक जीवन निकै विविधतापूर्ण र चुनौतीपूर्ण जिम्मेवारीले भरिएको छ। महानिरीक्षक हुनुअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेका उनले गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका बेला उपत्यकाको सुरक्षा कमाण्ड कुशलतापूर्वक सम्हालेका थिए।

एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा नै भुटानी शरणार्थी प्रकरण जस्तो देशव्यापी चर्चामा रहेको मुद्दाको अनुसन्धान अघि बढेको थियो। डीआइजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरेका थिए।

यसका साथै, उनले लागुऔषध नियन्त्रण ब्यूरो, विशेष ब्यूरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा, इन्टरपोल शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी महानिरीक्षकको सचिवालय जस्ता महत्वपूर्ण निकायमा रहेर काम गरिसकेका छन्। उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत बनेका थिए।

कार्कीले संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत पूर्वी टिमोरमा दुई पटक गरी तीन वर्ष र हाइटीमा १८ महिना सेवा गरेका छन्।

आफ्नो अब्बल कार्यसम्पादनका लागि उनलाई नेपाल सरकारले ‘प्रबल जनसेवा श्री’ विभूषणबाट सम्मानित गरेको छ भने संयुक्त राष्ट्रसंघ पदक लगायत १४ पटक नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ।

फिल्ड कमाण्ड, अपराध अनुसन्धान, नीतिगत व्यवस्थापन र अन्तर्राष्ट्रिय अनुभवको सन्तुलित सम्मिश्रण भएका कार्कीको नेतृत्वमा नेपाल प्रहरीले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नयाँ मानक स्थापना गर्ने जनअपेक्षा छ।

आफ्नो कार्यकालमा उनी ०६६ साल मंसिर २६ प्रहरी नायब उपरीक्षक (डीएसपी), ०७४ साल साउन १९ गते प्रहरी उपरीक्षक (एसपी), ०७९ साल साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ०८१ साल जेठ १३ गते प्रहरी नायब महानिरीक्षक (डीआइजी) हुँदै २००८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: