पोखरामा पहिलो चरणको भूमि वर्गीकरण सम्पन्न, मालपोत र नापी कार्यालयलाई कित्तासहितको विवरण हस्तान्तरण

Share:

पोखरा। पोखरा महानगरपालिकाले भू-उपयोग तथा भूमि वर्गीकरण कार्यको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ। पहिलो चरण अन्तर्गत वडा नं.१ देखि १० र वडा नं। १२ का सबै कित्ताको भूमि वर्गीकरण पूरा गरी विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई हस्तान्तरण गरिएको हो।

महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उक्त विवरण दुबै कार्यालयलाई हस्तान्तरण गरे। कार्यक्रममा नगर प्रमुख धनराज आचार्य स्वयं उपस्थित रहेको थियो।

नगर प्रमुख आचार्यका अनुसार दोस्रो चरणमा बाँकी वडाहरूको भूमि वर्गीकरण कार्य तीव्र गतिमा अगाडि बढाइँदैछ। उनले बाँकी काम पनि छिट्टै सम्पन्न गरी भू-उपयोग र वर्गीकरण सम्बन्धी अन्योलता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख आचार्यले थप्दै भने, “पोखराको योजनाबद्ध विकासका लागि भूमिको वर्गीकरण अत्यन्तै जरुरी छ। यो कार्यले विकास, प्रशासनिक सेवा र नागरिकलाई सुविधा प्रदान गर्न सहज बनाउनेछ।”

पहिलो चरणको सफल समापनसँगै पोखरा महानगरपालिकाले भूमि व्यवस्थापन र दिगो विकासतर्फ ठूलो कदम अघि बढाएको मानिएको छ।

कमेन्ट गर्नुहोस्
Share: