
पोखरा। पोखरा महानगरपालिका–२५, बिरेठाँटीस्थित बिरेठाँटी माध्यमिक विद्यालयमा “WT Cares Nepal – Um Hong Gil School Project 2025/26” अन्तर्गतको विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी. ले WT Cares Nepal र Um Hong Gil Human Foundation (UHGHF) द्वारा ग्रामीण समुदायका बालबालिकाका लागि खेलकुद र शिक्षाको माध्यमबाट अवसर सृजना गर्ने योगदानको प्रशंसा गरे।
उनले भने , “यस्ता परियोजनाले गाउँका बालबालिकामा आशा, अवसर र एकताको भावना जागृत गर्नुका साथै अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।” कार्यक्रममा UHGHF का देश निर्देशक पार्क हिडोङ र नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ ले परियोजनालाई ग्रामीण बालबालिकाको सर्वांगीण विकास र युवा सशक्तिकरणतर्फ प्रेरणादायी कदमको रूपमा व्याख्या गरे ।
दीपराज गुरुङका अनुसार यस वर्ष सञ्चालन गरिएको परियोजना तेस्रो चरणमा प्रवेश गरेको हो। यस चरणअन्तर्गत ६० जना विद्यार्थीले विशेष तेक्वान्दो तालिम प्राप्त गरेका छन्। यसअघि, पहिलो चरण (अगस्ट २०२२ अगस्ट २०२३) मा ८७ विद्यार्थी र दोस्रो चरण (अक्टोबर २०२३ अप्रिल २०२४) मा ७४ विद्यार्थी सहभागी भएका थिए। प्रत्येक चरणमा युवाको सशक्तिकरण, अनुशासन, नेतृत्व र जीवन कौशल विकासमा विशेष ध्यान दिइएको बताइएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज जैसीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा वडाध्यक्ष विजय गुरुङ, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, सल्लाहकार परिषद् सदस्य हरिश्वर पोखरेल, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, प्रशिक्षक कविराज खड्गी र बोधराज गिरी, UHGHF की कार्यक्रम प्रबन्धक निलम थापा लगायतको उपस्थितिले कार्यक्रमलाई रंगीन बनाएको थियो। कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले प्रस्तुत गरेको तेक्वान्दो प्रदर्शन र सांस्कृतिक प्रस्तुतीले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
