
पोखरा । पोखरा महानगरपालिका-२९ स्थित प्रगति टोल विकास संस्था र ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिको संयुक्त आयोजनामा १५ दिने योग शिविर सुरु भएको छ। शिविरमा पतञ्जली योग पीठ, गण्डकी प्रदेशले सहयोग गरेको छ।
“योग गरौं योग, रहौं निरोग” भन्ने उद्घोषका साथ सञ्चालन भएको शिविरले स्थानीय बासिन्दामा योगप्रति चेतना जगाउने उद्देश्य लिएको छ।
संस्थाका अध्यक्ष ललिन्द्र खड्काका अनुसार, नियमित योग अभ्यासले स्वास्थ्य सुधारसँगै मानसिक शान्ति र समुदायिक एकता बढाउने विश्वास गरिएको छ।
ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिका अध्यक्ष तथा समाजसेवी मोति गिरीले स्वागत मन्तव्य दिँदै योग दर्शनका आठ अङ्ग (अष्टाङ्ग योग) यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको महत्वबारे जानकारी गराए।
शिविरका प्रशिक्षक योग गुरु परमानन्द भण्डारीले योगलाई तनाव व्यवस्थापन र शारीरिक सन्तुलनका लागि अत्यन्त प्रभावकारी बताउँदै भने, “उच्च रक्तचाप, साइटिका, मेरुदण्डसम्बन्धी समस्या भएका व्यक्तिहरू तथा वृद्ध र गर्भवती महिलाले सावधानीपूर्वक अभ्यास गर्नुपर्छ।”
कार्यक्रममा टोलका उपाध्यक्ष वीरबहादुर खत्री, सचिव विष्णुहरि पौडेल, निवर्तमान अध्यक्ष धर्मदत्त पौडेल लगायतका वक्ताहरूले योग शिविरको सफलताको शुभकामना व्यक्त गरेका थिए।
शिविरको उद्घाटन ओमकारेश्वर शिव मन्दिरका पुजारी लक्ष्मण गौतमले दीप प्रज्ज्वलन गरेर गरे। उनले टोल विकास संस्थाले भौतिक मात्र होइन, सामाजिक र आत्मिक विकासमा पनि अगुवाइ गर्नुपर्ने सुझाव दिए।
३० भन्दा बढी स्थानीयको सहभागिता रहेको यो योग शिविर मंसिर १० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
