गण्डकी प्रदेशमा कांग्रेस सांसदको दबाब-‘मन्त्रिमण्डल फेर्नुस्, गठबन्धन पुनःव्यवस्था गरौं’

Share:

पोखरा । गण्डकी प्रदेशका नेपाली काँग्रेस सांसदहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दबाब दिन थालेका छन् । संसदीय दलको शुक्रबार बसेको बैठकमा सांसदहरूले मन्त्रिमण्डल पुनर्गठन मात्र होइन, सरकारको गठबन्धनसम्म फेरबदल गर्नुपर्ने माग उठाएका हुन्। बैठकमा सहभागी एक सांसदले भने, “मन्त्रिपरिषद् पुनर्गठनसँगै गठबन्धन पनि हिजोको चुनावी मोडमै फर्कनुपर्छ।” गत चुनावमा काँग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलसँग तालमेल गरेको थियो। तर केन्द्रको राजनीति परिर्वतनसँगै गण्डकीमा पटक-पटक सत्ता समीकरण उल्टापल्ट हुँदै आएको छ।

मन्त्री देवकोटाको राजीनामापछि रिक्त मन्त्रालय तुरुन्त भरियोस् भन्ने माग ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले केही दिनअघि राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी अहिले मुख्यमन्त्री पाण्डेसँग छ।

काँग्रेस सांसदहरू रिक्त मन्त्रालय तुरुन्तै छिटो भरिनुपर्ने माग गरेका छन् । सांसदहरूले आफू-आफैँ मन्त्री बन्ने इच्छा पनि खुला रूपमै व्यक्त गरेको स्रोत छ । गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलनपछि समेत सरकारको आचरणमा सुधार नदेखिएको भन्दै सरकारबाहिर रहेका काँग्रेस सांसदहरूले पूरै मन्त्रिमण्डल नै फेर्नुपर्ने सुझाव दिएका छन्।

सांसद भोजराज अर्यालले मुख्यमन्त्रीलाई उद्दृत गर्दै भने, “एउटा मन्त्रालय तपाईंले लिएर बसिरहनुभएको छ, त्यो कुनै साथीलाई दिनुहोस्। देशैभरि प्रतिनिधि नभएकालाई राख्नु भन्दा आफ्नै मान्छेलाई राखे राम्रो।” अर्याल अघिल्लो संसदीय दलको नेताको चुनावमा पाण्डेसँग पराजित भएका थिए। भूगोल, लिङ्ग, जनजाति तथा सामुदायिक प्रतिनिधित्वका आधारमा मन्त्री नियुक्त गर्नुपर्ने आवाज पनि उग्र रूपमा उठेको थियो ।

रेखा गुरुङले आफ्नो भूगोल र समूहको प्रतिनिधित्व देखाउँदै मन्त्री पाउने संकेत गरिन्। चम्पादेवी खड्का, जो संविधानसभा सदस्य र धवलागिरी क्षेत्रकी एकमात्र केन्द्रीय सदस्य हुन्, बोलीमात्रै नभई “मुख्यमन्त्रीले बुझिसक्नु भएको छ” भन्दै प्रत्यक्ष/अप्रत्यक्ष रूपमा मन्त्री माग गरिन्। अघिल्लो कार्यकालमा मन्त्री बनेका सांसदहरूले पनि काम पूरा गर्न समय नपाएकाले पुनः मौका दिनुपर्ने बताइन् । जबकी स्वकीय सचिव चाहिन्छरचाहिँदैन भन्ने विषयले पनि बैठकलाई तातिएको थियो।

विविध माग र दबाबका बीच मुख्यमन्त्री पाण्डेले भने, “यो मेरो एकल निर्णयले हुने विषय होइन। दलको मात्र निर्णयले पनि हुँदैन। राष्ट्रिय राजनीति कता मोडिन्छ, त्यसैअनुसार निर्णय हुनेछ।” काँग्रेस-एमाले गठबन्धनको सरकार चलिरहेको गण्डकीमा जेनजी आन्दोलनपछि राजनीतिक समीकरण फेरिएको र दुवै दलले मन्त्रिमण्डल फेरबदलको संवेदनशीलता उच्चस्तरमा आँकलन गरिरहेको विश्लेषकहरूको बुझाइ छ।

कमेन्ट गर्नुहोस्
Share: