
पोखरा । सयपत्री सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वर्षगाँठ उत्साहपूर्वक सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व, पारदर्शिता र उत्कृष्ट सहकारी सेवा प्रदान गर्दै आएको सयपत्री सहकारीले यस अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य तथा एसईईमा उच्च अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरेसँगै सहकारी सम्बन्धी प्रशिक्षणसमेत प्रदान गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा-११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सयपत्री सहकारीले सामाजिक क्षेत्रमा देखाएको सक्रियता ‘प्रेरणादायी’ भएको उल्लेख गर्दै सहकारी क्षेत्रको विकासका लागि संस्थागत गतिशीलता र रचनात्मक गतिविधि अपरिहार्य रहेको धारणा व्यक्त गरे । उनले सहकारीको भविष्य सेयर सदस्यको अच्छा कारोबार र अनुशासनमा निर्भर रहने बताए ।
अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव बसन्तराज कोइरालाले सञ्चालन गरेका थिए । उपाध्यक्ष धर्मप्रसाद बास्तोलाले अतिथि अभिवादन गर्दै सहकारीले स्थानीय सेवा र आर्थिक विकासमा सदैव अग्रणी भूमिका खेलेको बताए ।
सल्लाहकार विश्वराज बास्तोलाले ऋण असुलीमा ‘स्ट्रोङ मेकानिजम’ आवश्यक रहेको औंल्याउँदै धितो, जोखिम र सदस्य क्षमताको सूक्ष्म मूल्यांकन गर्न सञ्चालक समितिलाई आग्रह गरे । यसैगरी जिल्ला सहकारी संघका दीपकप्रसाद घिमिरेले दोहोरो सदस्यताका चुनौती, पारदर्शिता, सीमित क्षेत्रभित्र प्रभावकारी सेवा र प्रबन्धक तथा कर्मचारीलाई आवश्यक तालिम आवश्यकताबारे सुझाव दिए ।
कार्यक्रममा अध्यक्ष कार्की, सचिव कोइराला र कोषाध्यक्ष नारायणप्रसाद बास्तोलाले आफ्नो-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । २ अर्बभन्दा बढी कारोबार गरिरहेको सयपत्री सहकारीलाई “सक्रिय, जीवित र विश्वसनीय” बनाउन सबैको साझा पहल जरुरी रहेको अध्यक्ष कार्कीको भनाइ थियो । उनले सहकारीमा अनावश्यक आर्थिक भार पर्ने गतिविधि रोकिएको र सदस्यको निरन्तर सहयोग नै संस्थाको प्रगतिको मूल आधार भएको बताए ।
सहकारीका प्रबन्धक विकास सवेदीले संस्थाले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व, पारदर्शिता र सदस्य सेवामा कुनै सम्झौता नगरी अघि बढिरहेको उल्लेख गर्दै सयपत्री सहकारीका सबै सूचक ‘अत्यन्त सन्तोषजनक’ रहेको बताए । कार्यक्रम उत्साह, सहभागिता र सहकारी भावना सहित सम्पन्न भएको सहकारीले जनाएको छ ।
