जेनजी आन्दोलनको क्रममा हतियार लुटपाटमा संलग्न दुई जनालाई कास्की प्रहरीले लियो नियन्त्रणमा

Share:

पोखरा । जेनजी आन्दोलनका दौरान प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हतियार लुटपाट घटनामा संलग्न दुई जना व्यक्तिलाई कास्की प्रहरीले लुटिएको हतियारसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निरन्तर खोजतलास र अनुसन्धानका क्रममा कार्तिक २८ गते पोखरा-५, जिरो किमीका ३१ वर्षीय श्यामबहादुर तमाङ र पोखरा-२ का २२ वर्षीय सागर राउतलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले १ राउन्ड गोली, बोल्ट र ट्रिगर जडित हतियारको भाग १ थान, काठको बटको भाग १ थान र मोबाइल २ थान बरामद गरेको जनाएको छ।

दुवै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ। उनीहरूमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

भदौं २४ मा जेनजी आन्दोलनका नाममा विभिन्न प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हतियार लुटिएको घटनापछि कास्की प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान, खोजतलास र निगरानीलाई तीव्र बनाएको छ।

प्रहरीका अनुसार बाँकी संलग्न व्यक्तिहरूलाई पनि छिट्टै कानुनी दायरामा ल्याइनेछ।

कमेन्ट गर्नुहोस्
Share: