
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पार्टीको १५औँ महाधिवेशन मंसिरभित्रै आवश्य सम्पन्न गर्न केन्द्रीय समितिलाई कडा आग्रह गरेको छ। गत शनिबार पोखरामा बसेको प्रदेशस्तरीय भेलाले पारित प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाउँदै महाधिवेशनमा ढिलाइले पार्टीभित्र अन्योल र कार्यकर्तामा निराशा फैलिएको चेतावनी दिएको हो।
भेलाले विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मंसिर मसान्तभित्रै सम्पन्न गर्न पनि माग गर्दै नियमित वा विशेष महाधिवेशनमा भएको विवाद दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेको छ। करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्न नसक्दा संगठनभर मौनता र अनिश्चितता बढेको गुनासो पनि राखिएको छ।
स्पष्ट दृष्टिकोण लिएर अगाडि बढ्न कांग्रेस नेतृत्वलाई सुझाव
भेलाले कांग्रेसले अब अलमलिनु नहुने, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको मूलमान्यतामा फर्केर जनताको चाहनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने आवश्यकता जोडदार रूपमा उठाएको छ। आगामी निर्वाचनमा जनताको भरोसा पुनः जित्न संगठनले रूपान्तरणको बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास स्मरण गर्दै भेलाले अहिले देश गम्भीर परिस्थितिबाट गुज्रिरहेको र पार्टीको रक्षा तथा जनताको आकांक्षा पूरा गर्ने ठूलो जिम्मेवारी काँधमा आएको उल्लेख गरेको छ। समस्त नेता-कार्यकर्तालाई उच्च मनोबलसहित एकतामा उभिन आह्वान गरिएको छ।
६ प्रस्ताव पारित
महामन्त्री विष्णुप्रसाद लामिछानेका अनुसार भेलाले देशको वर्तमान राजनीतिक अवस्था र पार्टी महाधिवेशनबारे ६ वटा प्रस्ताव पारित गरेको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा चासो व्यक्त गरिएको छ। सभापति शेरबहादुर देउवासहित नेतामाथि भएको आक्रमण तथा पार्टी कार्यालय र कार्यकर्ताको घरमा गरिएको आगजनीप्रति घोर निन्दा व्यक्त गर्दै कांग्रेसले अब आत्मसमीक्षा गरेर नयाँ रूपमा जनतमाझ जानुपर्ने निष्कर्ष निकालिएको छ। विगतका कमजोरी दोहोर्याइनु नहुने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
