७७ जिल्लाको सुन्दरता एकै पुस्तकमा ‘नेपाल कला यात्रा’ कर्णालीबाट लोकार्पण, १९७ भाषामा विश्वभरि फैलिने अभियान

Share:

पोखरा। नेपालको ७७ जिल्लाको प्राकृतिक सुन्दरता, सांस्कृतिक रंग र पर्यटन सम्भावनालाई एउटै क्यान्भासमा समेटेर तयार पारिएको ‘नेपाल कला यात्रा’ पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार सुर्खेतमा लोकार्पण गरेका छन्। नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने महाअभियानको महत्वपूर्ण अंग मानिएको यस पुस्तकमा प्रत्येक जिल्लाका कम्तिमा ३ वटा प्रमुख पर्यटन गन्तव्यलाई अतिनै आकर्षक चित्रकलामार्फत प्रस्तुत गरिएको छ। पुस्तकका प्राज्ञ तथा अभियन्ता नगेन सिंह ठकुरीले देशका दृश्य, संस्कृति र सम्पदालाई एकसाथ कलात्मक रूपमा उतार्दै कला र पर्यटन प्रवर्धनलाई एउटै यात्रामा जोड्ने प्रयास गरेका छन्।

अभियन्ता ठकुरीले ‘नेपाल कला यात्रा’ पुस्तकलाई १ सय ९७ भाषामा अनुदित गरी विश्वका प्रत्येक देशका विश्वविद्यालय तथा पुस्तकालयमा ३०० वटा पुस्तक वितरण गर्ने योजना अघि सारेका छन्। लक्ष्य स्पष्ट छ, २०८७ सालसम्म नेपालमा १ करोड पर्यटक भित्र्याउने। उनको भनाइमा, “नेपालको कला, संस्कृति र भौगोलिक विविधता विश्वसामु चिनाउनु नै पुस्तक प्रकाशनको मुख्य उद्देश्य हो।” नेपाल कला यात्राको बीउ २०६७ कार्तिक ६ गते लुम्बिनीमा रोपिएको थियो। त्यसपछि २०७१ जेठ ३० गते र्‍यापर यमबुद्धसँगै ताप्लेजुङ पुगेका ठकुरीले पाथिभारा मन्दिरको चित्र क्यान्भासमा उताउँदै अभियानको औपचारिक सुरुवात गरेका थिए।

त्यसयता देशका सबै जिल्लाको प्रतिनिधित्व गर्ने चित्रहरू तयार गर्दै उनले ७७ जिल्लाको चित्र-संग्रह उपलब्ध गराएका छन्। नेपाल कमर्सियल आर्टिस्ट संघका केन्द्रीय उपाध्यक्ष सुभाष शाक्यका अनुसार टोली अहिले ७७ जिल्लामा पुस्तक वितरण गर्दै सुर्खेत पुगेको हो। पुस्तकमा २०७४ सालमा ठकुरीले क्यान्भासमा उतारेको ‘बुलबुले ताल’ को कलाकृति आकर्षक रूपमा समावेश छ, जुन पुस्तकको २६औँ पृष्ठमा राखिएको छ। यसले कर्णाली प्रदेशको प्राकृतिक पहिचान कलात्मक रूपमा झल्काउँछ।

कमेन्ट गर्नुहोस्
Share: